बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ।

आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउन साइत खोज्नेहरूका लागि आज बिहान १०:२६ बजे उत्तम साइत रहेको छ। विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन अनिवार्य रूपमा साइत खोजिरहनु नपर्ने समितिले जनाएको छ। भने राज्य सञ्चालकका लागि भने शुभ साइतमा टीका लगाउने परम्परा रहेको समितिको भनाइ छ।
घटस्थापनाका दिन स्थापना गरिएको कलशबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाउने गरिन्छ। आज गुरु, पुरोहित, हजुरबा–हजुरआमा, बुबा–आमा तथा मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गर्दै यश, ऐश्वर्य, दीर्घायु तथा समृद्धिको आशीर्वाद लिने गरिन्छ।
टीका लगाउँदा दिशा पनि महत्वपूर्ण
धर्मशास्त्रीय मान्यताअनुसार आज टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्कने र लगाइदिने व्यक्ति पूर्व फर्कने मान्यता रहेको छ। आज चन्द्रमा कुम्भ राशिमा रहेकाले चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यस्तो दिशा निर्धारण गरिएको बताइएको छ।
घटस्थापनाका दिन जमरा राखिएको स्थानमा आह्वान गरिएका देवीको विसर्जनको साइत बिहान ८:४९ बजे रहेको छ।
विजयादशमी असत्यमाथि सत्य तथा आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। धार्मिक विश्वासअनुसार त्रेता युगमा आजकै दिन भगवान् रामले रावणमाथि विजय प्राप्त गरेकाले यस दिनलाई विजयादशमीका रूपमा मनाउन थालिएको हो।

आजदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ। नेपालका केही समुदायमा भने विजयादशमीकै दिन मात्र टीका लगाउने तथा केही जाति–समुदायमा परम्पराअनुसार सेतो टीका लगाउने प्रचलनसमेत रहेको छ।






