राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसँग सम्बन्धित सार्वजनिक भएका समाचार तथा सामग्रीमा उठाइएका गम्भीर प्रश्नबारे आन्तरिक छानबिन अघि बढाउने भएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यममा सार्वजनिक भएका विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको जनाइएको छ। सुनारमाथि सार्वजनिक रूपमा महिलाको मर्यादा र सम्मानमा आँच पु¥याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनलगायतका आरोप सार्वजनिक भएको विज्ञप्तिमा उल्लेख छ।
पार्टीले यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट गर्दै महिलामाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा रास्वपाको शून्य सहनशीलताको नीति रहेको जनाएको छ।
विज्ञप्तिअनुसार घटनाको सत्यतथ्य अनुसन्धान गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ। अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ।
रास्वपाले सार्वजनिक भएका विषयको गम्भीरतालाई ध्यानमा राख्दै राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वाससमेत व्यक्त गरेको छ। राज्यका निकायले गर्ने अनुसन्धानमा पार्टीका तर्फबाट पूर्ण सहयोग रहने विज्ञप्तिमा उल्लेख छ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको भन्दै रास्वपाले आन्तरिक छानबिन र राज्यको अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा विधानबमोजिम थप कदम चाल्ने जनाएको छ। साथै, कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत काम गर्ने जोसुकैलाई पनि राजनीतिक संरक्षण नदिने प्रतिबद्धता दोहोर्याएको छ।






