२०८३ कात्तिक १२ , बुधबार

कर्णालीको एसडीजी पार्श्वचित्र मस्यौदामाथि छलफल, प्राविधिक कार्यदल गठन गर्न सुझाव



कर्णाली प्रदेशको दिगो विकास लक्ष्य (एसडीजी) पार्श्वचित्रको प्रारम्भिक मस्यौदामाथि प्रदेशका विषयगत मन्त्रालय तथा विकास साझेदारका प्रतिनिधिबीच छलफल भएको छ।

कर्णाली प्रदेश योजना आयोगको नेतृत्वमा भएको छलफलमा मस्यौदामा समावेश तथ्याङ्कको प्रामाणिकता, अपुग सूचना तथा दस्तावेजमा सरोकारवालाको स्वामित्व बढाउने विषयमा सुझाव संकलन गरिएको हो।

छलफलमा सहभागीहरूले मस्यौदामा समावेश तथ्याङ्कलाई आधिकारिक स्रोतबाट पुष्टि गर्नुपर्ने र छुटेका तथ्याङ्क तथा विवरण थप गर्नुपर्नेमा जोड दिएका थिए। सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख सुवर्णकुमार खड्काले कर्णालीमा एसडीजीका सूचकहरूको प्रगति र लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीति पहिचान गर्न पार्श्वचित्र महत्वपूर्ण हुने बताए।

मस्यौदालाई थप परिष्कृत गर्न प्रदेश योजना आयोगको नेतृत्वमा विषयगत मन्त्रालय, विकास साझेदार, सरोकारवाला तथा नागरिक समाजका प्रतिनिधि सम्मिलित प्राविधिक तथा सुझाव कार्यदल गठन गर्न सुझाव दिइएको छ।

बैठकमा मस्यौदा विषयगत मन्त्रालय तथा विकास साझेदारलाई उपलब्ध गराई थप सुझाव माग्ने सहमति भएको छ। अपुग तथ्याङ्क तथा सूचना प्रामाणिक स्रोतसहित संकलन गर्न किर्डाक नेपालले प्रदेश योजना आयोगसँग समन्वय गर्नेछ।

यस्तै, थप परामर्श बैठक आयोजना गरी प्राप्त सुझाव समेटेपछि व्यापक प्रमाणीकरण कार्यशाला गर्ने र त्यसपछि पार्श्वचित्र अनुमोदनको प्रक्रिया अघि बढाउने सहमति भएको छ। कार्यक्रममा प्रदेश योजना आयोग, मन्त्रालय, युनिसेफ, किर्डाक नेपाललगायतका प्रतिनिधिको सहभागिता थियो।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।