२०८३ कात्तिक १२ , बुधबार

कालिकोट, सुर्खेतसहितका ५ निर्माण कम्पनी कालोसूचीमा



सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगरेका पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले असोज १७ गते सूचना जारी गर्दै असोज १६ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो।

विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा कम्पनीहरूलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

कालोसूचीमा पर्ने कम्पनीहरूमा तिलागुफा नगरपालिका, कालिकोटको सिफारिसमा गोर्खबहादुर वटाला मुख्य व्यक्ति रहेको वटाला निर्माण सेवा, खाँडाचक्र–१, कालिकोट रहेको छ। उक्त कम्पनीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ।

त्यस्तै, पूर्वाधार विकास कार्यालय, लमजुङको सिफारिसमा सुरेशबाबु श्रेष्ठ मुख्य व्यक्ति रहेको बुढीगण्डकी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि., भीमसेन थापा–५, गोरखालाई पनि ३ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

सडक डिभिजन कार्यालय, जुम्लाको सिफारिसमा तीनवटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्। मैना शाही मुख्य व्यक्ति रहेको विनम्र निर्माण सेवा, सुर्खेतलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ।

त्यसैगरी ध्रुवप्रसाद कँडेल मुख्य व्यक्ति रहेको ध्रुव निर्माण सेवा, वीरेन्द्रनगर–३, सुर्खेतलाई २ वर्ष तथा चण्डिका शाही (मल्ल) मुख्य व्यक्ति रहेको अविनाश निर्माण सेवा, छायाँनाथ रारा–१, मुगुलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कालोसूचीमा राखिएको अवधिभर सम्बन्धित कम्पनी तथा व्यवसायीले सार्वजनिक निकायबाट हुने खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

Screenshot

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।