भोटेकोशी बाढी तथा विपद् प्रभावित क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले चीन सरकारले पठाएको बेलीब्रिजसहितको आपतकालीन सहायता सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ।

तस्बिर : नेपालस्थित चिनियाँ दूतावास
नेपालस्थित चिनियाँ दूतावासका अनुसार चीनको सिजाङ स्वायत्त क्षेत्र (तिब्बत)बाट पठाइएको बेलीब्रिजलगायत सहायता सामग्री सिगात्सेस्थित रिजी बन्दरगाहमा नेपाल पक्षलाई हस्तान्तरण गरिएको हो।
‘साझा हिमाल, साझा नदी, सुख–दुःखमा ऐक्यबद्धताः नेपालको सहयोगार्थ सिजाङको तत्परता’ भन्ने सन्देशसहित उक्त सहायता सामग्री हस्तान्तरण गरिएको दूतावासले जनाएको छ। शुक्रबार राति प्रदान गरिएको सहयोगले विपद्को समयमा दुई देशका जनताबीचको ऐक्यबद्धता र आपसी सद्भावलाई थप उजागर गरेको दूतावासको भनाइ छ।
सहायता सामग्रीमा बेलीब्रिज निर्माणका लागि आवश्यक बेली प्यानल, सुदृढ सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ तथा आई–बीमलगायतका उपकरण समावेश छन्। उक्त सामग्री विपद् प्रभावित क्षेत्रमा दुईवटा बेलीब्रिज जडान गर्न पर्याप्त हुने जनाइएको छ।
नेपालका पहिरो तथा बाढी प्रभावित क्षेत्रमा अवरुद्ध यातायात सम्पर्क पुनःस्थापना गर्न तथा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन यी सामग्री उपयोगी हुने चिनियाँ दूतावासले जनाएको छ।
चीनको ल्हासास्थित विदेश मामिला कार्यालयले नेपाली महावाणिज्य दूतावासलाई उक्त सहायता सामग्री हस्तान्तरण गरेको हो। नेपालका महावाणिज्य दूत लक्ष्मीप्रसाद निरौलाले विपद्को समयमा चीनले देखाएको तत्परता र सहयोगप्रति आभार व्यक्त गरेका छन्।
समयमै प्राप्त भएको उक्त सहयोगले नेपाल र चीनबीचको मित्रता तथा आपसी सहयोगको गहिरो सम्बन्धलाई थप उजागर गरेको उनले बताएका छन्।









