जनकपुरबाट २५ असारदेखि सुरु भएको मिटरब्याज पीडितहरूको ‘पैदल न्याय मार्च’ आज चौथो दिनमा प्रवेश गरेको छ। लालबन्दीबाट यात्रा अघि बढाउँदै पीडितहरूले न्यायको माग र आफ्ना हकअधिकार स्थापनाका लागि काठमाडौंसम्मको यात्रा निरन्तर जारी रहने बताएका छन्।

आयोजकका अनुसार राज्यको ध्यानाकर्षण गराउन र पटक–पटक भएका सहमतिहरू कार्यान्वयन गराउन दबाब सिर्जना गर्ने उद्देश्यले सुरु गरिएको यो मार्च काठमाडौं नपुगेसम्म नरोकिनेछ।
न्यायको खोजीमा निस्किएका सयौँ सहभागीहरूले ‘चुपचाप तमसुक फाड’ र ‘अधिकार माग्न काठमाडौं जान पर्दैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर मार्चमा सहभागिता जनाइरहेका छन्। उनीहरू दैनिक करिब २० देखि २६ किलोमिटर पैदल यात्रा गर्दै राजधानीतर्फ अघि बढिरहेका छन्।
आयोजकहरूले सरकारले मिटरब्याज पीडितसँग चारपटक सहमति गरे पनि ती प्रतिबद्धताहरू कार्यान्वयन नगरेकाले पुनः आन्दोलन गर्न बाध्य भएको बताएका छन्। उनीहरूका अनुसार दबाबमूलक आन्दोलनलाई प्रभावकारी बनाउन काठमाडौंलाई फेरि गुन्जायमान बनाइनेछ।
मार्चमा सहभागी पीडितहरू करिब एक साताभित्र काठमाडौं पुग्ने लक्ष्यसहित यात्रा जारी राखिरहेका छन्।













