२०८३ वैशाख ८ , मंगलबार

वृक्षारोपण देखावटी नभई उपयोगी बनाऔँ : मुख्यमन्त्री कँडेल



कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वृक्षारोपण कार्यलाई देखावटी नभई उपयोगी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन्। दैनिक जीवनमा प्रयोगमा आउने फलफूल तथा बहुपयोगी बिरुवा रोप्नुपर्ने बताए ।

शनिवार डिभिजन वन कार्यालय, सुर्खेतले आयोजना गरेको वृहत् वृक्षारोपण सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै  वृक्षारोपण वातावरण संरक्षण मात्र नभई मानव उपयोगका हिसाबले समेत लाभदायी हुने भएकाले बिरुवा रोप्ने काम देखावटीका लागि नभई हाम्रो जीवनसँग जोडिने गरी प्रयोगमा आउन सक्ने, फल दिने र आर्थिक लाभसमेत दिने किसिमका बिरुवा रोप्नु पर्नेमा जोड दिन आवश्यक रहेको मुख्यमन्त्री कँडेलले बताए ।

वृक्षारोपणलाई अभियानका रूपमा लैजानुपर्ने आवश्यकता औँल्याउँदै हामीकहाँ धेरैजसो ठाउँमा एक पटक बिरुवा रोपिन्छ, तर त्यसको संरक्षण हुँदैन। अब आयोजकले रोपण मात्र होइन, रेखदेख र संरक्षणमा पनि ध्यान दिनुपर्ने मुख्यमन्त्री कँडेलले उल्लेख गरे । वन विनाश, भूक्षय, सुख्खा, असिना पानीजस्ता प्राकृतिक समस्याहरू वृक्षारोपणबाट नियन्त्रण गर्न सकिने उनको भनाइ थियो ।

मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले वन क्षेत्रको संरक्षण, सामुदायिक वनको सशक्तीकरण, पर्यावरणमैत्री खेती र हरियाली विस्तारलाई प्राथमिकतामा राखेर स्थानीय तहहरूसँग सहकार्य गरेर वृक्षारोपण र वातावरण संरक्षणमा दीर्घकालीन योजनाहरू लागू गर्ने नीति लिएको समेत जानकारी दिए ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री, स्थानीय तहका प्रतिनिधि, सरकारी कर्मचारी, विद्यार्थी, सुरक्षा निकाय, सामाजिक अभियन्ता र सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो ।

प्रकाशित मिति : २०८२ असार १४ गते शनिबार