२०८३ भदौ २६ , शुक्रबार

सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ



कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्। घटनापछि उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा कुँवरले हातपात गरेकी थिइन्। कार्यक्रमका क्रममा दुवै पक्षबीच विवाद भएपछि कुँवरले देवकोटामाथि मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

घटनालगत्तै वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई घटनास्थलबाट नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार कुँवरलाई पक्राउ गरी हिरासतमा राखिएको छ।

उनले वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहारको किटानी जाहेरी दिएका आधारमा मुद्दा दर्ता गरिएको र अदालतबाट म्याद थपको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

यता पत्रकार कुँवरले आफ्नो फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्ष देवकोटाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।