२०८३ असार ५ , शुक्रबार

सुदूरपश्चिममा १३५ मेगावाट विद्युत् उत्पादन, ६० हजारभन्दा बढी घरधुरी अझै अन्धकारमा



 

जलस्रोतको धनी सुदूरपश्चिम प्रदेशमा करिब १३५ मेगावाट विद्युत् उत्पादन भइरहे पनि ६० हजारभन्दा बढी घरधुरी अझै विद्युत् सेवाबाट वञ्चित छन्।

नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरियाका अनुसार प्रदेशमा विद्युतीकरणको पहुँच ८८ प्रतिशत पुगेको छ। हालसम्म ६० हजार ७८७ घरपरिवारमा विद्युत् सेवा पुग्न सकेको छैन। ती घरधुरीका नागरिक अझै टुकी, दियालो र टर्चलाइटको भरमा जीवनयापन गर्न बाध्य छन्।

प्रदेशभर विद्युत् प्राधिकरणका ४ लाख १७ हजार ७९४ ग्राहक रहेका छन्। त्यस्तै, राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा सौर्य ऊर्जा तथा लघु जलविद्युत् आयोजनामार्फत ८३ हजार ९५६ घरधुरीले सेवा लिइरहेका छन्।

सुदूरपश्चिममा सरकारी क्षेत्रबाट ३१.६ मेगावाट र निजी क्षेत्रबाट १०३.८ मेगावाट गरी कुल करिब १३५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। दार्चुलास्थित ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना सरकारी उत्पादनको मुख्य स्रोत हो भने कालंगा हाइड्रो र अपि हाइड्रोलगायत निजी आयोजनाले उल्लेख्य योगदान दिएका छन्।

उत्पादन क्षमता बढ्दै गए पनि वितरण प्रणाली र पूर्वाधार विस्तारमा भएको ढिलाइका कारण सबै नागरिकले विद्युत्को सुविधा पाउन सकेका छैनन्। विद्युत् प्राधिकरणले भने आगामी दुई वर्षभित्र बाँकी घरधुरीमा समेत विद्युत् सेवा विस्तार गरी सुदूरपश्चिमलाई पूर्ण रूपमा विद्युतीकरण गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित मिति : २०८३ असार ५ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।