२०८३ असार ३ , बुधबार

निर्माणको अन्तिम चरणमा यस्तो देखियो नयाँ संसद हल (तस्वीरहरू)



सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ। हलको अधिकांश संरचनागत काम सम्पन्न भइसकेको भए पनि माइक तथा साउन्ड प्रणाली जडानको काम भने अझै बाँकी रहेको निर्माण पक्षले जनाएको छ।

निर्माण कार्य कहिलेसम्म सम्पन्न हुने भन्ने निश्चित मिति भने अझै तय हुन सकेको छैन। पटक–पटक म्याद थपिए पनि निर्माण कार्यमा ढिलाइ भइरहेपछि सभामुख डीपी अर्याल ले असार १ गते निर्माणाधीन संसद् हलको स्थलगत निरीक्षण गरेका थिए।

संसद् सचिवालयका कर्मचारीहरूसहित निरीक्षणमा पुगेका सभामुख अर्यालले निर्माण सम्पन्न हुने यकिन मिति तत्काल उपलब्ध गराउन निर्देशन दिएका थिए। उनले तोकिएको समयभित्र काम सम्पन्न नभए दैनिक एक करोड रुपैयाँसम्म जरिवाना तिराइने चेतावनीसमेत दिएका थिए।

निरीक्षणका क्रममा उनले सहरी विकास मन्त्री र सचिवलाई निर्माण कार्य तीव्र बनाउन निर्देशन दिँदै रातदिन काम गरेर भए पनि प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका थिए। निर्माणमा भइरहेको ढिलाइलाई राष्ट्रकै प्रतिष्ठासँग जोडिएको विषय भन्दै उनले अब स्पष्ट निष्कर्षसहित काम सम्पन्न गर्न आग्रह गरेका थिए।

निर्माण पक्षका अनुसार बाँकी प्राविधिक काम सम्पन्न भएपछि प्रतिनिधि सभा हल सञ्चालनमा ल्याइनेछ। तर, हालसम्म निर्माण सम्पन्न हुने ठोस समयसीमा सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : २०८३ असार २ गते मंगलबार