२०८३ जेठ २९ , शुक्रबार

कर्णालीका ९ जिल्लामा रास्वपाको जिल्ला अधिवेशन सम्पन्न, अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व चयन



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशका १० जिल्लामध्ये डोल्पाबाहेक ९ जिल्लामा पहिलो जिल्ला अधिवेशन सम्पन्न गरेको छ। सोमबार सम्पन्न अधिवेशनमार्फत दैलेख र रुकुम पश्चिमबाहेक अधिकांश जिल्लामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ।

अधिकांश जिल्लामा आइतबारदेखि सुरु भएको अधिवेशन सोमबार बेलुकासम्म चलेको थियो। केही जिल्लामा नेतृत्व चयनका क्रममा विवाद र रस्साकस्सी देखिए पनि अन्ततः अधिकांश स्थानमा सहमतिमै नेतृत्व चयन भएको पार्टीले जनाएको छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जिल्ला सभापतिमा रमेश कुमार सापकोटा पुनः चयन भएका छन्। सापकोटा रास्वपाबाट कर्णालीमा निर्वाचित एकमात्र प्रतिनिधिसभा सदस्यसमेत हुन्। यद्यपि जिल्ला कार्यसमितिका अन्य पदाधिकारीहरूको टुंगो भने अझै लाग्न बाँकी रहेको छ।

रास्वपा कर्णाली प्रदेश अध्यक्ष मदनकुमार खड्काका अनुसार पदाधिकारीमा आकांक्षीको संख्या धेरै भएकाले सहमतिका लागि छलफल जारी छ। “पदाधिकारी चयनका विषयमा छलफल भइरहेको छ, छिट्टै टुंगो लाग्छ,” उनले बताए।

दैलेख र रुकुम पश्चिममा निर्वाचन

नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि दैलेख र रुकुम पश्चिममा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ।

दैलेखमा बखतबहादुर भण्डारी ९२ मतसहित जिल्ला सभापतिमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी प्रकाश बुढाले ६९, विनीबहादुर शाहीले ४३ र निवर्तमान सभापति मित्र प्याकुरेलले ४१ मत प्राप्त गरेका थिए। भण्डारी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दैलेख–२ बाट रास्वपाका उम्मेदवार थिए। जिल्ला उपसभापतिमा गणेशबहादुर शाही र सचिवमा रमेश केसी निर्वाचित भएका छन्।

रुकुम पश्चिममा द्रोण खड्का जिल्ला सभापतिमा निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी पुस्तक चन्दलाई १२ मतले पराजित गरेका हुन्। खड्काले ४२ मत प्राप्त गर्दा चन्दले ३० मत पाए। कुल ११३ मतदातामध्ये ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ। उपसभापतिमा रिमप्रसाद शर्मा, सचिवमा दीपेन्द्रराज विष्ट र सहसचिवमा प्रेम बाँठा मगर निर्वाचित भएका छन्।

जुम्ला, जाजरकोट,हुम्ला र सल्यान जिल्लामा सर्वसम्मत नेतृत्व

कालीकोटमा प्रेमबहादुर केसी पुनः जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। उपसभापतिमा दिनेशबहादुर शाही, सचिवमा भूपेन्द्रजंग शाही र सहसचिवमा जीवनबहादुर शाही चयन भएका छन्।

जुम्लामा मक्करबहादुर भण्डारी पुनः सभापतिमा चयन भएका छन्। उपसभापतिमा सुनिलबहादुर बुढा, सचिवमा जगतबहादुर खत्री, उपसचिवमा दानबहादुर बुढा र कोषाध्यक्षमा सीता रोकाया निर्विरोध निर्वाचित भएका छन्।

जाजरकोटमा अधिवेशनका क्रममा विवाद देखिए पनि अन्ततः महेश सिंहको नेतृत्वमा नयाँ समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। सभापति पदका एक आकांक्षी सनद कार्कीले दाबी फिर्ता लिएपछि सहमति जुटेको बताइएको छ।

हुम्लामा लक्ष्मण ऐडीको नेतृत्वमा नौ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको छ। उपसभापतिमा रिन्जेन लामा, सचिवमा मनोज बोहोरा, सहसचिवमा तीर्थराज बुढा र कोषाध्यक्षमा कमन शाही चयन भएका छन्।

सल्यानमा प्रकाश नेपाली जिल्ला सभापतिमा चयन भएका छन्। उपसभापतिमा टीकाराम केसी, सचिवमा श्रीकान्त राई, सहसचिवमा हीरा योगी र कोषाध्यक्षमा सीता मल्ल निर्वाचित भएका छन्।

मुगुमा अधिवेशन जारी, डोल्पामा पछि हुने

मुगुमा सोमबारदेखि सुरु भएको जिल्ला अधिवेशन जारी रहेको छ। नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास भइरहेको जनाइएको छ। डोल्पामा भने दुई महिनाअघि मात्रै तदर्थ समिति गठन भएकाले पार्टीको महाधिवेशनपछि जिल्ला अधिवेशन आयोजना गरिने भएको छ।

रास्वपाले २०७९ सालको निर्वाचनपछि कर्णालीमा संगठन विस्तारलाई तीव्रता दिएको छ। चुनावअघि तुलनात्मक रूपमा कमजोर संगठन रहेको पार्टीले पछिल्लो समय जिल्लास्तरसम्म संगठन विस्तार र नेतृत्व निर्माणलाई प्राथमिकतामा राख्दै आएको छ।

प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार