हुम्ला र बाजुरा जिल्लाबीचको रानीसैना–लामपाटा क्षेत्रको सीमा विवाद चर्किँदै गएपछि हुम्लामा बसेको सर्वपक्षीय बैठकले विवादित क्षेत्रमा निर्माण हुन लागेको प्रहरी चौकीको काम तत्काल रोक्न नेपाल सरकारसँग माग गरेको छ। प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको बैठकले सीमा विवादको विषयमा समीक्षा गर्दै विभिन्न निर्णय गरेको हो।

बैठकले सर्केगाड गाउँपालिका–२, खार्पुनाथ गाउँपालिका–२, सिमकोट गाउँपालिका–८ र नाम्खा गाउँपालिका–३ का स्थानीय बासिन्दाले उक्त क्षेत्र परम्परादेखि भोगचलन गर्दै आएको उल्लेख गरेको छ। स्थानीयले लामो समयदेखि जडीबुटी संकलन, पशुचौपाया चरन तथा अन्य उपयोग गर्दै आएको विषय बैठकमा उठाइएको थियो।
बैठकले पछिल्ला दिनमा विवादित क्षेत्रमा प्रहरी चौकी निर्माणका लागि प्रक्रिया अघि बढाइएको विषयले स्थानीय स्तरमा थप असन्तुष्टि र विवाद सिर्जना गरेको निष्कर्ष निकालेको छ। साथै, सीमा विवादलाई कानुनी तथा तथ्यगत आधारमा अध्ययन गरी दीर्घकालीन समाधान खोज्न अधिकारसम्पन्न छानबिन समिति गठन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरिएको छ।
त्यसैगरी बैठकले बाजुराको हिमाली गाउँपालिका क्षेत्रमा कर्णाली करिडोर अवरुद्ध गरिएको घटनाप्रति समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सडक अवरोधका कारण हुम्ली नागरिकको आवतजावत र स्थानीय व्यवसाय प्रभावित भएको भन्दै तत्काल सडक सञ्चालन सहज बनाउन गृह मन्त्रालयसँग अनुरोध गर्ने निर्णयसमेत गरिएको छ।
बैठकमा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवाला पक्षको सहभागिता रहेको थियो।










प्रतिक्रिया दिनुहोस्