हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा आएको बाढीपहिरोबाट प्रभावित क्षेत्रमा प्रहरी पुगेको छ । प्रहरी चौकी मेल्छामबाट करिब ६ घण्टाको पैदल यात्रापछि प्रहरी टोली घटनास्थल पुगेको हो ।

प्रहरी पुगेपछि पहिरोमा पुरिएका गोठबाट भेडाबाख्रा निकाल्ने काम सुरू गरिएको स्थानीय रामचन्द्र तामाङले जानकारी दिए । उनका अनुसार गएराति परेको असिनासहितको अविरल वर्षाले गाउँको खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्याएको छ ।
बाढीपहिरोका कारण ६७ घरधुरी प्रभावित भएका छन् भने ठूलो परिमाणमा खेतीयोग्य जमिन बगाएको स्थानीयवासीले बताएका छन् । गाउँपालिका केन्द्रबाट नेप्का गाउँ पुग्न एक दिन पैदल हिँड्नुपर्ने भएकाले उद्धार तथा राहत कार्यमा समेत कठिनाइ भएको छ ।
त्यस्तै, डाँफे आधारभूत विद्यालयको पाँच कोठे भवन पूर्ण रूपमा भत्किएको छ । विद्यालयका प्रधानाध्यापक बलि तामाङका अनुसार विद्यालयमा रहेका कम्प्युटर, प्रिन्टरलगायत सम्पूर्ण शैक्षिक सामग्री नष्ट भएका छन् ।
घटनाबारे संघीय संसद्मा जानकारी गराउँदै यशोदाकुमारी बराल र रमेश सापकोटाले प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्