प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्की दिने एक व्यक्तिलाई कानुनी दायरामा ल्याउन सुरक्षा तथा अनुसन्धान निकायलाई निर्देशन दिएको छ ।

दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत प्रधानमन्त्री कार्यालयको नाम लिँदै धम्क्याएको आरोपमा प्रकाश खड्काविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो ।
सामाजिक सञ्जालमा भाइरल भएको अडियो रेकर्डमा खड्काले वडा सचिव भण्डारीसँग असभ्य भाषा प्रयोग गर्दै दबाब दिएको सुनिन्छ । अडियोअनुसार भण्डारीले सेवाग्राहीलाई प्रक्रियागत रूपमा मात्रै सेवा प्रवाह गर्न सकिने अडान राखेका थिए ।

त्यसक्रममा खड्काले ‘प्रधानमन्त्री कार्यालयबाटै भनिएको’ भन्दै छिटो काम गर्न दबाब दिएका थिए । नियमअनुसार काम गरिरहेका कर्मचारीमाथि अभद्र भाषा प्रयोग गर्दै धम्की दिइएको भन्दै घटनाको व्यापक आलोचना भइरहेको छ ।
घटनालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गम्भीर रूपमा लिएको जनाएको छ ।
कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा शनिबार जारी विज्ञप्तिमा राष्ट्रसेवक कर्मचारीलाई भय, त्रास र दबाब सिर्जना गर्ने गतिविधि निन्दनीय र अक्षम्य भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार आफ्नो जिम्मेवारी पूरा गरिरहेका राष्ट्रसेवक कर्मचारीलाई पदीय मर्यादाविपरीत भय र त्रास सिर्जना गर्ने, अमर्यादित शब्द प्रहार गर्ने तथा धम्क्याउने यस्ता गतिविधि पूर्णतः निन्दनीय र अक्षम्य छन् ।’
प्रधानमन्त्री कार्यालयले घटना सार्वजनिक भएलगत्तै खड्कालाई तत्काल कानुनी दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जनाएको छ ।
साथै, कुनै पनि व्यक्तिले प्रधानमन्त्री, सचिवालय वा प्रधानमन्त्री कार्यालयको नाम प्रयोग गरी फोन, भेटघाट वा अन्य माध्यमबाट दबाब दिएमा त्यसको भ्रममा नपर्न र तत्काल सुरक्षा निकायलाई जानकारी गराउन कार्यालयले सार्वजनिक अपिल गरेको छ ।
शंकास्पद फोन, सन्देश वा संवादलाई आधिकारिक माध्यमबाट प्रमाणीकरण गरेर मात्र कामकारबाही अघि बढाउन सम्पूर्ण सरकारी निकाय तथा कर्मचारीलाई पनि आग्रह गरिएको छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेख जिल्ला पार्टी कार्यालयले पनि कर्मचारीलाई धम्क्याउने आरोपित प्रकाश खड्काको पार्टी सदस्यता निलम्बन गर्न केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ ।
जिल्ला सचिव प्रकाशकुमार बुढाले शनिबार पत्राचार गर्दै खड्कामाथि आवश्यक कारबाही गर्न माग गरेका हुन् ।






