२०८३ जेठ १९ , मंगलबार

अनाथ बालबालिकालाई बराहतालद्वारा खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण



अनाथ तथा अभिभावकविहीन बालबालिकाको संरक्षण र शिक्षामा सहयोग गर्ने उद्देश्यले बराहताल गाउँपालिकाले उपकार नेपाल संस्थामा आश्रित बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ।

बराहताल गाउँपालिका–५ बड्डिचौरस्थित उपकार नेपालमा गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारी ले संस्थामा आश्रित बालबालिकाका लागि चामल, दाल, तेल लगायतका खाद्यान्न सामग्री तथा कापी, कलमसहित विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।

अध्यक्ष भण्डारीले समाजका अभिभावकविहीन तथा असहाय बालबालिकाको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै स्थानीय सरकारले मानवीय सेवाका कामलाई प्राथमिकतामा राखेको बताए।

उनले बालबालिकाको शिक्षा, स्वास्थ्य र उज्ज्वल भविष्यका लागि गाउँपालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने बताए ।

२०७८ सालदेखि ललित बहादुर नेपाली ले दैलेखका सडक आश्रित तथा अनाथ बालबालिकालाई आफ्नै घरमा राखेर पालनपोषण गर्दै आएका थिए ।

पछि बालबालिकाको शिक्षा, संरक्षण र व्यवस्थापनलाई सहज बनाउन उनले ‘उपकार नेपाल’ नामक संस्था दर्ता गरी सञ्चालनमा ल्याएका हुन् ।

संस्था दर्ता नभएको अवस्थामा विद्यालयले बालबालिकालाई भर्ना लिन असहज मानेपछि औपचारिक रूपमा संस्था दर्ता गरिएको उनले बताए । हाल संस्थामा ७ जना अनाथ तथा आश्रित बालबालिका बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८३ जेठ १ गते शुक्रबार