हुम्लाको सदरमुकाम सिमकोटमा पछिल्लो समय खानेपानीको चरम अभाव देखिएपछि स्थानीय महिलाहरू आन्दोलित भएका छन्। करिब १० दिनदेखि धारामा पानी नआएपछि आक्रोशित महिलाहरूले जिल्ला प्रशासन कार्यालयको गेट बाहिर पुगेर घेराउ गर्दै आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन्।

विशेषगरि एकताचोक र काठे चुली आसपास क्षेत्र हप्तौँदेखि धारामा नियमित रूपमा पानी नआउँदा दैनिक जीवन नै कष्टकर बन्दै गएको आन्दोलनमा आएकी महिला काली भण्डारीले बताईन् । उनका अनुसार, घरायसी कामकाजदेखि लिएर सरसफाइसम्मका आधारभूत आवश्यकता प्रभावित भएपछि महिलाहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो। सम्बन्धित निकायसँग पटक–पटक समस्या समाधानको माग गरे पनि कुनै ठोस पहल नभएको गुनासो गरेका छन्।
गाउँपालिकामा बारम्बार ध्यानाकर्षण गराउँदा पनि समस्या समाधानतर्फ चासो नदिइएको स्थानीय गीता लामाको आरोप छ। “हामीले धेरै पटक भन्यौँ, तर कसैले सुनुवाइ गरेन। अब त पानीकै लागि संघर्ष गर्नुपर्ने अवस्था आयो,” उनले भनिन्।
त्यस्तै, आन्दोलनमा आएका अर्का स्थानीय निर्मला ऐडीले खानेपानी अभावले दैनिकी नै अस्तव्यस्त बनेको बताए। “आफ्नो धारामा पानी आउँदैन, अरूको घरमा गएर पानी भर्नुपर्ने बाध्यता छ,” उनले दुखेसो पोखिन। यसले सामाजिक असहजता मात्र नभई समय र श्रमको अतिरिक्त बोझ पनि थपिएको उनीहरूको भनाइ छ।
खानेपानी जस्तो आधारभूत सेवामा देखिएको लापरवाहीले जनजीवनमा गम्भीर असर पारेको भन्दै बजारबासीहरुले तत्काल दीर्घकालीन समाधानको माग गरेका छन्। उनीहरूले सम्बन्धित निकायलाई जिम्मेवार बनाउँदै नियमित र पर्याप्त खानेपानी आपूर्ति सुनिश्चित गर्न दबाब दिएका हुन्।











प्रतिक्रिया दिनुहोस्