२०८३ वैशाख ६ , आइतबार
इनिशा हत्या प्रकरण :

सुर्खेतमा १६ वर्षीया इनिशा विक हत्या प्रकरण : दुबईबाट फर्किएका बुबाको भनाइ- ‘न्याय नपाएसम्म शव बुझ्दिनँ’



सुर्खेतमा बलात्कारपछि हत्या भएको आरोप लागेकी १६ वर्षीया इनिशा विकका बुबा इन्द्रबहादुर विक घर आइपुगेका छन्। रोजगारीको सिलसिलामा दुबईमा रहेका उनी छोरीको हत्या भएको खबर पाएपछि गएराति नै नेपाल फर्किएका हुन्।

घटनास्थल पुगेपछि उनले छोरीको योजनाबद्ध रूपमा हत्या गरिएको दाबी गर्दै न्याय नपाएसम्म शव नबुझ्ने बताएका छन्। उनले भने, “पार्कबाट घना जंगलतिर लगेर विभिन्न सामान देखाएर फकाई मेरो छोरीको हत्या गरिएको जस्तो देखिन्छ। मेरो छोरीले न्याय नपाएसम्म म शव बुझ्दिनँ।”

गत फागुन २३ गते वीरेन्द्रनगर-४ स्थित जनजागरण सामुदायिक वनमा इनिशा अचेत अवस्थामा फेला परेकी थिइन्।

प्रहरीले उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल पुर्‍याएको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। अस्पतालको पोस्टमार्टम रिपोर्टअनुसार अत्यधिक रक्तश्रापका कारण उनको मृत्यु भएको देखिएको छ।

घटनास्थलबाट पक्राउ परेका १६ वर्षीय एक बालकले इनिशासँग शारीरिक सम्बन्ध राखेको र त्यसपछि अत्यधिक रक्तश्राप भएर उनी बेहोस भएको बयान दिएका छन्। यस घटनामा थप अनुसन्धानका लागि प्रहरीले अन्य तीन बालकलाई पनि नियन्त्रणमा लिएर सूक्ष्म अनुसन्धान गरिरहेको छ।

पीडित परिवारले चार जनाले सामूहिक बलात्कारपछि हत्या गरेको आरोप लगाउँदै आन्दोलन सुरु गरेपछि घटनाको थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत खटिएको छ।

प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार