जारी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा दिउँसो १ बजेसम्म करिब ३० प्रतिशत मतदान भएको छ।

प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार दिउँसो १ बजेसम्म कर्णालीका १० जिल्लामा रहेका १२ निर्वाचन क्षेत्रमा कुल तीन लाख १८ हजार तीन सय दुई मत खसेको छ। प्रदेशभर मतदान शान्तिपूर्ण रूपमा जारी रहेको उनले जानकारी दिए।
कर्णाली प्रदेशमा कुल १० लाख ३७ हजार दुई सय ५० मतदाता रहेका छन्। प्रदेशभरका नौ सय ४१ मतदानस्थलमध्ये हालसम्म एक लाख ६० हजार एक सय ५६ महिला र एक लाख ५८ हजार एक सय ४५ पुरुष मतदाताले मताधिकार प्रयोग गरेका छन्।
जिल्लागत विवरण अनुसार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा ३७ हजार सात सय ६० र सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा ३९ हजार सात सय ३९ मत खसेको छ।
त्यस्तै दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा १७ हजार चार सय ६० र निर्वाचन क्षेत्र नम्बर २ मा १३ हजार सात सय १८ मत खसेको छ।
यसैगरी जाजरकोटमा ३६ हजार चार सय २८, सल्यानमा ५४ हजार पाँच सय ३०, रुकुम पश्चिममा ३६ हजार आठ सय ३४ मत खसेको छ।
कालीकोटमा २२ हजार ६ सय ७८, जुम्लामा २२ हजार तीन सय ८४, मुगुमा १३ हजार पाँच सय ३१, डोल्पामा आठ हजार दुई सय ११ र हुम्लामा १५ हजार २९ मतदाताले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ।









