२०८३ वैशाख ८ , मंगलबार

मौन अवधि सुरु: ४८ घण्टा चुनावी प्रचारमा पूर्ण रोक



आगामी फागुन २१ गते (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनका लागि ४८ घण्टे मौन अवधि लागू भएको छ। १८ गते (सोमबार) राति १२ बजेबाट मौन अवधि लागू गरिएको हो ।

मतदान अघिको यो अवधिलाई संवेदनशील मान्दै निर्वाचन आयोगले सबै पक्षलाई आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ। आयोगका अनुसार मौन अवधिमा कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार गर्न पाइँदैन। राजनीतिक दल तथा उम्मेदवारले सभा, सम्मेलन, जुलुस, अन्तरक्रिया, गोष्ठी जस्ता कार्यक्रम गर्न नपाउने व्यवस्था छ।

बाजागाजा, नाचगान, भोजभतेर, हुलहुज्जत वा भीडभाड हुने गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ। सामाजिक सञ्जाल, अनलाइन पोर्टल, छापा तथा अन्य सञ्चार माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, शेयर वा प्रसारण गर्न नहुने प्रावधान छ। एसएमएस, साउण्ड सिस्टम, फोन कल वा अन्य कुनै माध्यमबाट मत माग्ने कार्यसमेत गर्न पाइँदैन।

मतदान सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य सम्पन्न नभएसम्म मतदाता वा मतदान केन्द्रमा खटिएका कर्मचारीलाई बाधा पुर्‍याउने, त्रास सिर्जना गर्ने वा वातावरण बिथोल्ने गतिविधि गर्न कडाइका साथ रोक लगाइएको छ। साथै मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउनुपर्ने र सामाजिक सञ्जालमा राखिएका विज्ञापनसमेत हटाउन निर्देशन दिइएको छ।

यसरी, निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मौन अवधिको पूर्ण पालना अपरिहार्य रहेको आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८२ फागुन १९ गते मंगलबार