२०८३ वैशाख ४ , शुक्रबार

चैतलो पर्वको अवसर पारी ठेहेमा देउडा मेला



सिमकोट गाउँपालिका वडा नं. २ ठेहेको आयोजनामा चैतलो पर्वको अवसर पारेर सांस्कृतिक देउडा कार्यक्रम सम्पन्न भएको छ। स्थानीय कला, संस्कार र परम्पराको संरक्षण गर्ने उद्देश्यले फागुन १५ गते कार्यक्रम गरिएको वडा अध्यक्ष देवजङ्ग बोहराले जानकारी दिए।

कार्यक्रममा साविक ठेहे गाविसका १ देखि ६ वडासम्मका देउडा टोलीहरू सहभागी भएका थिए। कुल ७ टोलीमध्ये ६ महिला र १ पुरुष टोली प्रतिस्पर्धामा उत्रिएका हुन् । स्थानिय चाडर्पवसँग समसामयिक टुक्का मिलाएर खेलिएको देउडा प्रत्येक टोलीमा ७ जना सदस्य रहेका थिए।

पहिलो खेल साविक वडा ५ र ६ बीच, दोस्रो खेल वडा १ र ४ बीच तथा तेस्रो खेल वडा ३ र २ बीच सम्पन्न भएको थियो। अन्तिम खेल साविक वडा ६ का पुरुष टोली र वडा ४ का महिला टोलीबीच भएको हो। प्रतिस्पर्धामा सहभागी सबै टोलीलाई समान रूपमा ७ हजार रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरिएको अध्यक्ष बोहराले बताए। कार्यक्रम प्रतिस्पर्धामुखीभन्दा बढी सांस्कृतिक एकता र सहभागितामूलक बनाइएको थियो।

कार्यक्रममा तीन विद्यालयका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए। उनीहरूलाई २ हजार रुपैयाँ नगद र प्रशंसापत्र प्रदान गरिएको थियो। साथै स्थानीय देउडा प्रेमीहरूले पनि आफ्ना प्रस्तुति राखेका थिए।

गाउँपालिकाका ८ वटै वडालाई कार्यक्रममा सहभागी हुन सूचना गरिएको भए पनि वडा नं. १ र २ बाट मात्र सहभागिता थियो। कार्यक्रमको अध्यक्षता वडा नं. २ का अध्यक्ष देवजङ्ग बोहराले गरेका थिए। प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विजय भण्डारी, विशेष अतिथि जिल्ला समन्वय समिति सदस्य दिफ भण्डारी तथा अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष बोहराले यो कार्यक्रम सुरुवात मात्र भएको उल्लेख गर्दै आगामी वर्षमा अझ भव्य रूपमा आयोजना गर्ने बताए। प्रमुख अतिथि भण्डारीले मौलिक संस्कृति र परम्पराको संरक्षणका लागि यस्ता कार्यक्रम आवश्यक रहेकोमा जोड दिएका छन्।

प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार