२०८३ वैशाख ६ , आइतबार

हुम्लामा पहिले चामलको लाइन, अहिले नुनको लाइन



हिमाली जिल्ला हुम्लामा अहिले अनुदानको नुन खरिद गर्न नागरिकले घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता सिर्जना भएको छ।

सडक सञ्जालसँग नजोडिएको कारण यसअघि चामल किन्न सास्ती भोग्दै आएका स्थानीय अहिले नुनका लागि लाइन बस्न बाध्य भएका हुन्।

राज्यबाट ढुवानी अनुदानमार्फत वितरण हुने नुन खरिद गर्न नागरिकले दुई दिनसम्म समय खर्चिनुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।

खार्पुनाथ गाउँपालिका–१ लालीकी पुल्तिसरा जैसी अनुदानको नुन किन्न देउखुरी गाउँबाट सदरमुकाम सिमकोटसम्म एक दिन पैदल हिँडेर आइपुगेकी थिइन्।

सिमकोट विमानस्थल गेटमा पुगेपछि घण्टौँ लाइनमा बस्नुपरेको उनले बताइन्।

एक नागरिकताबाट बढीमा आठ प्याकेट नुन मात्रै खरिद गर्न पाइन्छ। ‘पहिला चामल किन्न लाइन बस्नुपर्थ्यो, अहिले नुन किन्न लाइन बस्नुपर्ने अवस्था छ,’ उनले बताइन् ।

दिनभर पैदल हिँडेर सिमकोट आइपुगेपछि नुन लिएर फर्किन फेरि एक दिन लाग्ने उनको भनिन् 

देउखुरीकै कृष्णप्रसाद जैसीले पनि नुन खरिद गर्न दुई दिन समय खर्चिनुपर्ने बाध्यता रहेको बताए। ‘एक दिन आउन र अर्को दिन फर्किन-आठ प्याकेट नुन किन्नै दुई दिन लाग्छ,’ उनले भने।

यस्तै, सिमकोट गाउँपालिका-८ का तुलराज बुढा तीनदेखि चार घण्टा पैदल हिँडेर सिमकोट पुगे पनि अनुदानको नुन लिन लामो लाइन बस्नुपर्ने र सीमित परिमाण मात्रै पाउने समस्या उस्तै रहेको बताउँछन्।

हुम्लामा खाद्यान्न तथा नुनजस्ता आधारभूत उपभोग्य वस्तुको आपूर्तिमा देखिएको कठिनाइका कारण स्थानीय बासिन्दा सास्ती खेप्न बाध्य भएका छन्।

भौगोलिक विकटता र सीमित आपूर्ति व्यवस्थापनका कारण सामान्य उपभोग्य सामग्री खरिद गर्नसमेत समय, श्रम र खर्च बढ्दै गएको भन्दै स्थानीयले गुनासो गरेका छन्।

प्रकाशित मिति : २०८२ फागुन १० गते आइतबार