उज्यालो नेपाल पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गम्भिरसिंह भूलले सुर्खेत क्षेत्र नम्बर २ का लागि आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्। उनले सुशासन, रोजगारी, पूर्वाधार र प्रविधिमैत्री विकासलाई प्राथमिकतामा राख्दै घोषणापत्र सार्वजनिक गरेका हुन्।

भूलले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै बाबियाचौर–जंगलघाट र चिसापानी–बबई–छिन्चु सुरुङमार्ग निर्माणका लागि गुरुयोजना तयार गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन्।
वीरेन्द्रनगर नगरपालिका र जामु कुइने क्षेत्रमा खानेपानी व्यवस्थापनलाई प्राथमिकतामा राखिने तथा ग्रामीण र शहरी बस्ती जोड्ने सडक, सिँचाइ र खानेपानी योजना अघि बढाइने उनले उल्लेख गरेका छन्। अधुरा योजनालाई सम्पन्न गर्ने र स्थानीय आवश्यकताका आधारमा नयाँ योजना सञ्चालन गरिने जनाइएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रलाई राज्यको मुख्य जिम्मेवारीका रूपमा अघि सार्दै उनले सरकारी विद्यालयलाई डिजिटल सिकाइ केन्द्रका रूपमा विकास गर्ने, शिक्षक तालिम र छात्रवृत्ति विस्तार गर्ने तथा प्राविधिक शिक्षामा जोड दिने योजना प्रस्तुत गरेका छन्।
स्वास्थ्यतर्फ आधारभूत अस्पताल र स्वास्थ्य चौकी सुदृढीकरणसँगै दुर्गम क्षेत्रमा नियमित स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ। रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै कृषि आधुनिकीकरण, जडीबुटी प्रशोधन, पशुपालन, पर्यटन र साना उद्योगमार्फत युवालाई गाउँमै अवसर सिर्जना गरिने उल्लेख छ।
युवालाई सहुलियत ऋण, सीप विकास तालिम र बजार पहुँच सुनिश्चित गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ। सुशासनतर्फ सांसद कार्यालयलाई सेवा केन्द्रका रूपमा विकास गर्ने, योजनाको छनोटदेखि कार्यान्वयनसम्म नागरिक सहभागिता र पारदर्शिता सुनिश्चित गर्ने तथा सार्वजनिक लेखाजोखा प्रणाली लागू गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।
त्यस्तै, डिजिटल सेवा, अनलाइन गुनासो प्रणाली, ई-शासन र प्रविधिमैत्री कृषि प्रणाली लागू गर्ने तथा युवालाई आईटी र डिजिटल सीपमा दक्ष बनाउने कार्यक्रम अघि सारेका छन् ।
समावेशी विकासलाई जोड दिँदै दलित, महिला, आदिवासी, थारु, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका लागि लक्षित कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता भूलले व्यक्त गरेका छन्।
भूलले जित्नुअघि नै जबाफदेही राजनीति गर्ने र सुर्खेत–२ लाई नारा होइन, नतिजा दिने क्षेत्रका रूपमा विकास गर्ने बताएका छन्।









