२०८३ वैशाख ८ , मंगलबार

फागुन १ देखि एचपिभी खोप सेवा सञ्चालन



महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि नियमित एचपिभी खोप सेवा सञ्चालनमा आएको छ।

यसबारे जानकारी दिन वीरेन्द्रनगरमा सञ्चारकर्मीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा जिल्ला खोप समन्वय समिति प्रमुख गंगाराम सुनार, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख करुणा भट्टराई तथा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रशिक्षक डा. सुवाश शर्माले एचपिभी खोपको महत्व, प्रभावकारिता र सुरक्षाबारे जानकारी दिएका थियो।

उहाँले खोप सुरक्षित रहेको र यसले भविष्यमा क्यान्सरजस्ता ज्यान जोखिममा पार्ने रोगबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उहाँका अनुसार नियमित एचपिभी खोप सेवा फागुन १ गतेदेखि सञ्चालन हुनेछ। खोप सम्बन्धित विद्यालय वा नजिकको स्वास्थ्य संस्थामार्फत लगाइनेछ।

यो खोप कक्षा ६ देखि १० सम्म अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई दिइनेछ।

साथै, गत वर्षको अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पनि खोप लगाइने जनाइएको छ।

खोप सेवा निःशुल्क उपलब्ध गराइनेछ। स्वास्थ्य निकायले लक्षित समूहका अभिभावक तथा किशोरीहरूलाई खोप कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार