२०८३ वैशाख ८ , मंगलबार

सुर्खेत–२ मा नेकपा उम्मेदवारका एजेन्डा : प्रत्येक स्थानीय तहमा  आइटी कलेजदेखि प्रदेश अस्पताल स्तरोन्नतिसम्म



नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सुर्खेत क्षेत्र नम्बर–२ का उम्मेदवार झकबहादुर मल्ल ‘सुदीप’ ले आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका छन् । सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले एजेन्डाहरु सार्वजनिक गरेका हुन् ।

अन्य उम्मेदवारहरूले अहिलेसम्म एजेन्डा सार्वजनिक नगरेको अवस्थामा मल्लले प्रदेश राजधानी वीरेन्द्रनगरलाई आधुनिक नमुना सहर बनाउने, प्रत्येक पालिकामा आइटी कलेज स्थापना गर्ने, प्रदेश अस्पताल स्तरोन्नति तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका छन् ।

पूर्व माओवादी लडाकु समेत रहेका मल्लले जनयुद्धका उपलब्धिलाई जनताको जीवनस्तरसँग जोड्न अब आफूहरूले नेतृत्व गर्ने बताए । पश्चिम सुर्खेतमा विकास आयोजनाको सुरुवात आफूहरूको नेतृत्वमै भएको उल्लेख गर्दै ती योजनालाई पूर्णता दिन उम्मेदवारी दिएको उनको भनाइ छ ।

उनले गठबन्धनका कारण विगतमा आफ्नै उम्मेदवार नउठाएको माओवादी मतदाताले यसपटक खुसीका साथ मत हाल्ने वातावरण बनेको दाबी गरे ।

प्रकाशित मिति : २०८२ माघ १९ गते सोमबार