२०८३ वैशाख ४ , शुक्रबार

सुर्खेत क्षेत्र नम्बर–२ मा रोचक चुनावी प्रतिस्पर्धा : कसले मार्ला बाजी



आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनीधी सभा निर्वाचनका लागि सुर्खेत क्षेत्र नं २ मा रोचक प्रतिस्पर्धा हुने भएको छ । प्रमुख राजनीतिक दलहरुले प्रभावशाली नेतालाई उम्मेदार मैदानमा उतारेसँगै यहाँ केही नयाँ अनुहार पुराना अनुहार बिच चुनावी प्रतिस्पर्धा हुने भएपछि चुनावी माहोल तातेको छ ।

नेकपा (एमाले) ले जिल्ला अध्यक्ष कुलमणी देवकोटालाई उम्मेदवार बनाएको छ । यस्तैगरी नेपाली कांग्रेसले नारायणकुमार कोइराला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट झक्कबहादुर मल्ल ‘सुदीप’ उम्मेदवार छन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रमेश कुमार सापकोटा उम्मेदवार रहेका छन् । पेशाले यातायात व्यवसायी सापकोटाले स्वतन्त्र राजनीतिक पहिचान सहित मतदाताको समर्थन खोजिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कविराम पुरी उम्मेदवार पनि चुनावी मैदानमा छन ।

मुख्य दलसँगै स्वतन्त्र तथा साना दलका उम्मेदवारसमेत गरी सुर्खेत क्षेत्र नम्बर–२ मा कुल १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । केही नयाँ अनुहार र फरक राजनीतिक पृष्ठभूमिका उम्मेदवारबीचको प्रतिस्पर्धाले यस क्षेत्रको चुनाव रोचक बनाएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार नारायणकुमार कोइरालालाई कार्यकर्ताहरू ‘बौद्धिक, शालीन र निश्कलंक’ नेताका रूपमा चित्रण गर्छन् । विद्यार्थी राजनीतिबाट सक्रिय कोइराला कांग्रेसका पूर्व क्षेत्रीय सभापति हुन् । उनी एक सञ्चार उद्यमीसमेत हुन् र रेडियो भेरीका सञ्चालकका रूपमा चिनिदैँ आएका छन ।

सुर्खेत उपत्यका नगरविकास समितिको अध्यक्ष रहँदा बुलबुले उद्यान र दोभान पार्कलाई व्यवस्थित र पर्यटकीय रूपमा विकास गर्न खेलेको भूमिकाका कारण उनलाई ‘भिजनरी लिडर’ का रूपमा चिनिएका छन ।
कांग्रेस कार्यकर्ताहरूका अनुसार कोइरालाको स्वच्छ छवि, बलियो व्यक्तिगत प्रभाव र पार्टीको ऐतिहासिक पकड नै भएकोले जित्ने मुख्य आधार भन्दै तर्फ दिन थालेका छन ।
कांग्रेसको आन्तरिक एकता, प्रभावशाली नेताहरू पूर्णबहादुर खड्का र निवर्तमान सांसद हृदयराम थानीको खुला समर्थन तथा वीरेन्द्रनगर र पश्चिम सुर्खेतमा पकड भनिएका कोइरालालाई बलियो उम्मेदार भएको दाबी काँग्रेसका कार्यक्रताहरुको तर्क छ ।

यता, नेकपा –एमाले उम्मेदवार देवकोटा ‘अनटेस्टेड’ भए पनि विद्यार्थी राजनीतिदेखि नै सक्रिय रहँदै आएका नेता हुन् । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समितिको अध्यक्षका रूपमा लामो समय काम गरेका देवकोटा पनि एमालेबाट प्ररिचित नाम हो ।

उनले खानेपानी समस्या समाधानका क्रममा उपत्यकाका अधिकांश घरधुरीसँग प्रत्यक्ष सम्पर्क बनाएका छन । खानेपानी संस्थामा देखाएको सेवाभाव, पहुँचयोग्य व्यवहार र संगठनात्मक क्षमताकै कारण उनलाई एमालेले ‘निडर, हक्की र भिजनरी’ नेताका रूपमा अघि सारेको छ ।

एमालेभित्र सर्वसम्मत रूपमा उम्मेदवार चयन भएकाले देवकोटालाई आन्तरिक विवादको सामना गर्नु परेको छैन । देवकोटा सबैभन्दा बढी मतदाता रहेको वीरेन्द्रनगर नगरपालिकाका बासिन्दा हुनु, पार्टीको सांगठनिक पकड बलियो हुनु र उम्मेदवारी चाँडै टुंगिएर अग्रिम प्रचारमा जुट्न पाउनु उनको पक्षमा रहेको एमालेको दाबी छ ।

नेकपाका उम्मेदवार झकबहादुर मल्ल पार्टीका केन्द्रीय सदस्य हुन् । सशस्त्र युद्धकालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहँदै आएका मल्ललाई पार्टीभित्र अनुभवी र संघर्षशील नेताका रूपमा चिनिन्छ ।

यातायात व्यवसायी पनि चुनावमा

रमेश सापकोटा पेशाले उनी यातायात व्यवसायी हुन । काँक्रे बिहार यातायात प्रालिका अध्यक्ष समेत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवारको टिकट ल्याएर चुनावी मैदानमा हुर्मिएका छन ।

सापकोट यसअघि नेपाली काँग्रेस पार्टी वीरेन्द्रनगर नगर समितिका सचिव थिए । यस्तै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार कविराम पुरी पार्टीका जिल्ला अध्यक्ष हुन् । उनी पनि प्रतिनीधि सभाको निर्वाचनमा उम्मेदारी दिएका छन ।

ठूला दललाई सकश

सुर्खेत क्षेत्र २ को चुनावमा प्रतिस्पर्धा हुने भएपछि ठूला दलहरुलाई एक आपसमा साख जोगाउन धौ धौ हुने देखिन्छ । नेकपा एमालका कुलमणी देवकोट, काँग्रेसका नारायण कोइराला, नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्ल सुदिप तिनै जना चर्चित उम्मेदवार हुन ।

तिनै जना देवकोटा,कोइराला, र मल्ललाई एक आपसमा साख जोगाउन हाम्यहाम्य हुने देखिन्छ । तिन दलको प्रतिस्पर्धाले यातायात व्यवसायी पेशाबाट राजनीतिक मैदानमा हुर्मिएका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटा बाजी मार्ने दाउमा छन । आ–आफ्ना एजेन्डा र पृष्ठभूमिका साथ प्रतिस्पर्धामा रहेकाले चुनावी माहोल थप चर्किएको छ ।

काँग्रेस नेता हृदयराम थानीको पकट रहेको यो क्षेत्र यस पटक चुनाव नलडने निर्णय पछि काँग्रेसलाई आफनो साख गुम्ने डर छ । थानी २०५६, २०७० र २०७९ को चुनाव जितेका थिए भने एमाले नेता यामलाल कँडेल उनका सदाबहार प्रतिस्पर्धी थिए । कँडेल पनि यसपटक चुनावी दौडमा छैनन् ।

राष्ट्रिय जनमोर्चाबाट पूर्णबहादुर शाही, नेमकिपाबाट तुल्छी खड्का, जसपा नेपालबाट दीपबहादुर नेपाली लगायत विभिन्न दलका उम्मेदवार मैदानमा छन ्। सबैजसो उम्मेदवार नयाँ भएकाले यसपटक सुर्खेत–२ मा मतदाताले कसलाई रोज्छन् भन्ने चासो बढेको छ । यस क्षेत्र नम्बर–२ मा ७२ हजार मतदाता रहेका छन् ।

२०७९ मतप्राप्त र समानुपातिक मत कुन पार्टी कत्ति ?

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीले ३४ हजार ६ सय २५ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका मुख्य प्रतिस्पर्धी नेकपा (एमाले) का अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५ सय ५८ मत प्राप्त गरे पनि पराजित भए । थानी र बुढाबीचको मतान्तर ५ हजार ६७ रहेको थियो ।

उक्त निर्वानमा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर चुनाराले ४ हजार ६ सय १ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर शाहीले २ हजार ६ सय ३२ मत ल्याएका थएि। निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन रहेको थयिो भने अन्य दलहरू एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

यस्तै, समानुपातिक तर्फको मतपरिणामले भने फरक तस्वीर देखाएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले २३ हजार १० समानुपातिक मत प्राप्त गरेको थियो भने नेकपा (एमाले) ले २५ हजार ८६ मत ल्याएको थियो।

प्रत्यक्ष निर्वाचनमा कांग्रेस उम्मेदवार विजयी भए पनि समानुपातिक अर्थात् पार्टीगत लोकप्रिय मतमा एमाले अगाडि देखिनु रोचक विषय बनेको छ ।

प्रकाशित मिति : २०८२ माघ १५ गते बिहीबार