सुर्खेतको गुर्भाकोट नगरपालिका-२ अन्तर्गत रहेको जनज्ञान भण्डार माध्यमिक विद्यालयमा विपद् जोखिम र प्रकोप पहिचान तथा स्तरीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कारखाना समूहअन्तर्गत सञ्चालन भइरहेको सिभिल सोसाइटी इम्पावरमेन्ट फर एकाउन्टेबल एजुकेशन कार्यक्रमको सहयोगमा कर्णाली सिकाइ समूहका सदस्य आवाज संस्थाले कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो। अभिमुखीकरणमा विद्यालयमा सम्भावित विपद् जोखिम, विपद् प्रतिकार्य योजना तथा विद्यालय सेवा क्षेत्रभित्र रहेका जोखिमहरूको पहिचान र स्तरीकरणबारे कर्णाली सिकाइ समूहका सदस्य तपेन्द्र सावदले सहजीकरण गरेका थिए।
कार्यक्रममा सामुदायिक जोखिम नक्साङ्कन गर्दै सेवा प्रदायक निकायको नक्साङ्कन तथा सुरक्षित स्थानहरूको पहिचान र स्थरीकरणसमेत गरिएको थियो।
कार्यक्रमको समापन गर्दै प्रधानाध्यापक भट्टले यस्ता अभिमुखीकरण कार्यक्रमले विद्यालयलाई विपद् जोखिमप्रति सचेत बनाउने र पूर्वतयारीमा सहयोग पुग्ने बताउँदै आगामी दिनमा प्राप्त ज्ञान व्यवहारमा उतार्ने प्रतिबद्धता गरेका छन् ।
कार्यक्रममा शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य , बिधार्थी बालक्लवका सदस्य तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।








