२०८३ वैशाख ४ , शुक्रबार

परम्परागत खेतीबाट व्यावसायिक सुन्तलातर्फ, खण्डीको प्रेरणादायी यात्रा



मेहनत गरे कृषि पनि राम्रो आम्दानीको माध्यम बन्न सक्छन् भन्ने उदाहरण बनेका छन् चन्द्रबहादुर खण्डी। सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा पर्ने चौकुने गाउँपालिका–१, साताको मार्सिखेतमा ६५ वर्षीय खण्डीले परम्परागत खेती छाडेर व्यावसायिक सुन्तला खेतीतर्फ पाइला चालेका हुन्।

उमेरले ढल्किँदै गए पनि उनको मेहनत र लगनशीलता भने अझै ताजै छ। परम्परागत खेतीबाट बाहिर निस्केर केही वर्षअघि उनले सुन्तला खेती सुरु गरे र आज त्यो प्रयास आम्दानीको आधार बन्दै गएको छ।

करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको खण्डीको सुन्तला बगैँचामा हाल पाँच सयभन्दा बढी बिरुवा छन्। तीमध्ये करिब दुई सय बिरुवाले फल दिन थालेका छन् भने बाँकी तीन सय बिरुवा अझै हुर्कँदै छन्। सीमित स्रोत र आफ्नै लगानीमा बगैँचा विस्तार गर्दै आएका खण्डीले नियमित स्याहार–सुसार र मेहनतलाई सफलताको मुख्य आधार मान्छन्।

यस वर्ष बगैँचाबाट उत्पादित सुन्तला बिक्री गरेर उनले एक सिजनमै करिब ५० हजार रुपैयाँ आम्दानी गरेका छन्। स्थानीय बजारमा बिक्रीसँगै उनले छिमेकी प्रदेश सुदूरपश्चिमको कैलालीस्थित आफ्ना घर-परिवारलाई पनि सुन्तला पठाएका छन्। सुरुवाती चरणमै राम्रो आम्दानी हुन थालेपछि आगामी दिनमा उत्पादन थप बढ्ने उनी बताउछन् ।

खण्डी भन्छन्, “मेहनत गरे कृषि पनि राम्रो आम्दानीको माध्यम बन्न सक्छ। अहिले केही बिरुवाले मात्रै फल दिएका छन्, सबै बिरुवा ठूला भएपछि उत्पादन अझै बढ्छ।” उनको अनुभव र सफलताले स्थानीय किसानहरूलाई पनि फलफूल खेतीतर्फ आकर्षित गर्न थालेको छ।

साताको क्षेत्र सुन्तला खेतीका लागि उपयुक्त रहेको स्थानीय हरिचन्द्र भण्डारीले बताएका छन्। उनका अनुसार यस्ता व्यावसायिक कृषि प्रयासलाई सम्बन्धित निकायबाट आवश्यक सहयोग, तालिम र प्रोत्साहन दिनु आवश्यक छ। उचित सहयोग र सहजीकरण पाए यस क्षेत्रलाई सुन्तला उत्पादनको सम्भावित केन्द्रका रूपमा विकास गर्न सकिने विश्वास उनले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार