२०८३ वैशाख १० , बिहीबार

कर्णाली प्रदेश अस्पताल: संरचना बढ्यो, जनशक्ति भने अझै अपुग



कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना तथा जनशक्ति व्यवस्थापनसम्बन्धी विषयमा कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिमा छलफल गरिएको छ।


वीरेन्द्रनगर, सुर्खेतमा बसेको बैठकमा प्रदेश सरकारका प्रतिनिधि र सरोकारवालासँग विस्तृत विषयमा छलफल भएको हो। समितिको गत कात्तिक २२ गतेको बैठकले सरोकारवालालाई आमन्त्रण गर्ने निर्णयअनुसार आजको बैठक बसेको हो।

बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रदेश अस्पतालका लागि विशेषज्ञ चिकित्सक भर्नामा ठूलो चुनौती रहेको बताए। सरकारका प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले कर्णालीको भूगोल, पहुँच तथा वास्तविकताका कारण विशेषज्ञ चिकित्सकहरू प्रदेशमा आउन नमान्ने समस्या विद्यमान रहेको बताए।

मन्त्री भण्डारीले भने, ‘सरकारले गाउँ–गाउँमा चिकित्सक पठाउन छात्रवृत्ति व्यवस्था र करार सेवामार्फत स्थानीय तहसम्म चिकित्सक परिचालन गरे पनि मेडिकल अधिकृतभन्दा माथिल्लो तहका विशेषज्ञ चिकित्सक पाउन निकै कठिन छ।’ उनका अनुसार स्वास्थ्य क्षेत्र हाल प्राथमिकतामा पर्न नसकिएको र कोभिडपछि बजेट स्रोत घट्दै गएको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले जनशक्ति अभाव तथा व्यवस्थापन पक्षमै कमजोरी रहेको स्वीकारे। उनले प्रदेश सरकारले १५० शय्या स्वीकृत गरेको भए पनि अहिले ३०० शय्याको बराबर सेवा दिनुपरेको र ९१ जनाले विशेषज्ञ सेवा प्रदान गरिरहे पनि जनशक्ति व्यवस्थापनका लागि आवश्यक बजेट पर्याप्त नभएको बताए।

प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापाले ३७ जना विशेषज्ञ आवश्यक भए पनि हाल १९ जनामार्फत मात्र सेवा प्रवाह भइरहेको जानकारी दिए। उनले अस्पताललाई ४–५ हजार केभिए विद्युत् आवश्यक भए पनि हाल एक हजार केभिए क्षमताको मात्र आपूर्ति भएकाले सेवामा चुनौती देखिएको बताए।

समितिका सभापति पूर्णबहादुर खत्रीले बैठकमा जनशक्ति पदपूर्ति, कार्यदक्षता, सेवा प्रवाहमा देखिने ढिलासुस्तीका कारण तथा सुधारका सम्भावित उपायबारे व्यापक छलफल गरिएको जानकारी दिए।

प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार