२०८३ मंसिर १० , बिहीबार

रास्वपाका २० सदस्य चीन भ्रमणमा जाँदै, को–को छन् टोलीमा ?



चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भेट गरेको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २९ कात्तिकदेखि चीन भ्रमणमा जाने टोलीले शुक्रबार प्रधानमन्त्री बालेनसँग भेट गरेको हो । भेटमा प्रधानमन्त्री शाहले चीनसँगको सहकार्यबाट नेपालले विकासमा कसरी फड्को मार्न सक्छ भन्ने विषयलाई प्राथमिकतामा राखेर छलफल गर्न सुझाव दिएका छन् ।

रास्वपा सांसद समीक्षा बाँस्कोटाका अनुसार प्रधानमन्त्री शाहले नेपालको असंलग्न परराष्ट्र नीतिअनुसार अघि बढ्दै भारत र चीनजस्ता ठूला छिमेकी मुलुकसँगको सम्बन्धलाई विकास र समृद्धिका लागि उपयोग गर्नुपर्ने बताएका थिए ।

‘हाम्रो परराष्ट्र नीति असंलग्न छ । त्यहीअनुसार अघि बढ्नुस् । हामी भारत र चीनजस्ता ठूला विकसित राष्ट्रको बीचमा छौँ । हामीले कसरी विकासमा फड्को मार्न सक्छौँ, त्यो तहबाट कुरा राख्नुपर्छ भन्नुभएको छ,’ बाँस्कोटाले शिलापत्रसँग भनिन् ।

महामन्त्री आचार्य नेतृत्वको प्रतिनिधिमण्डलमा सांसदहरू समीक्षा बाँस्कोटा, गणेश पराजुली, हरि ढकाल, कवीन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य र सागर ढकालसहित पार्टीका अन्य नेता तथा विज्ञहरू सहभागी छन् ।

टोलीमा सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहेका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक २८ गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।