
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा फोर्स गाडी कर्णाली नदीमा खसेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बिहीबार बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको हो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षकको कमान्डमा उद्धार सामग्रीसहित नेपाल प्रहरीको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार हालसम्म नाम, थर र वतन नखुलेका एक पुरुष भिरमा अड्किएको अवस्थामा फेला परेका छन्। उनको उद्धारका लागि आवश्यक प्रयास भइरहेको छ।
उद्धार कार्यका लागि सामग्रीसहित ३५ जना प्रहरी परिचालन गरिएको रोकायले जानकारी दिए। दुर्घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब तीन किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिमतर्फ रहेको छ।
दुर्घटनाको कारण तथा गाडीमा सवार अन्य यात्रु र मानवीय क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।









