
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ । मंगलबार (१३ जेठ) बसेको बैठकले कानुन, प्रशासन तथा राजस्व व्यवस्थापनसँग सम्बन्धित विभिन्न प्रस्ताव स्वीकृत गरेको हो ।
सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
साथै, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई कामकाजमा खटाउने निर्णय पनि गरिएको उनले जानकारी दिए ।
बैठकले योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक तर्जुमाको अवधारणापत्रलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।
त्यस्तै, सामयिक राजस्व उठाउनेसम्बन्धी विधेयक तर्जुमा सम्बन्धी अवधारणापत्रलाई समेत सैद्धान्तिक स्वीकृति दिइएको प्रवक्ता शाहले बताए ।
यसैगरी, बैठकले कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ कार्यान्वयनमा देखिएको बाधा–अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय गरेको छ । साथै, कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८३ पनि स्वीकृत गरिएको सरकारले जनाएको छ ।









