२०८३ भदौ २७ , शनिबार

आलोचनापछि वीरेन्द्रनगर नगरपालिकाले दियो काफल पीडित महिलालाई क्षतिपूर्ति (भिडियाे सहित)



सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी काफल विक्रेता धमिला चौलागाईलाई नगरपालिकाले राहत तथा क्षतिपूर्ति उपलब्ध गराएको छ।

बुधबार नगरप्रमुख मोहनमाया ढकाल ले चौलागाईलाई आफ्नै कार्यकक्षमा बोलाएर १० हजार रुपैयाँ राहत तथा प्रोत्साहनस्वरूप प्रदान गरेकी हुन्।

मङ्गलबार साँझ वीरेन्द्रनगर–६ स्थित सिटी बसपार्क क्षेत्रमा फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगर प्रहरीले चौलागाईले बिक्रीका लागि ल्याएको काफलको डालो जबरजस्ती पल्टाइदिएका थिए। महिलाले आफ्नो सामान जोगाउन खोज्दाखोज्दै पनि दुई जना नगर प्रहरीले डालो घोप्ट्याइदिएपछि काफल भुईँमा छरपस्ट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

घटनापछि नगरपालिकाको चौतर्फी आलोचना भएको थियो। जनस्तरबाट चर्को विरोध भएपछि नगरपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्न नगर प्रहरीमाथि कारबाही गर्ने तथा पीडित महिलालाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको थियो।

निर्णय भएको केही समयमै चौलागाईलाई नगरपालिकामा बोलाएर उनको नोक्सानी भएको काफलको मूल्यसहित थप राहत रकम गरी १० हजार रुपैयाँ उपलब्ध गराइएको नगरप्रमुख ढकालले बताइन्।

भिडियाे पनि 

कालीकोट घर भई हाल वीरेन्द्रनगर–३ मा बस्दै आएकी चौलागाईको करिब ७ देखि ८ सय रुपैयाँ बराबरको काफल नोक्सान भएको बताइएको छ। तर उनको मानसिक तथा आर्थिक अवस्थालाई ध्यानमा राख्दै थप राहतस्वरूप रकम प्रदान गरिएको नगरप्रमुख ढकालको भनाइ छ।

क्षतिपूर्ति पाएपछि चौलागाई खुसी हुँदै फर्किएकी थिइन्। साथै बुधबार उनले ल्याएको सबै काफल नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले खरिद गरिदिएको थिए ।

प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।