पछिल्लो एक महिनाको अवधिमा देशभरबाट ४१७ जना बिचौलिया पक्राउ परेका छन्। नेपाल प्रहरीका अनुसार काठमाडौँ उपत्यकाबाट १२३, कोशी प्रदेशबाट ४५, मधेसबाट ५०, बागमतीबाट ७६, गण्डकीबाट २७, लुम्बिनीबाट ४४, कर्णालीबाट २४ र सुदूरपश्चिमबाट २८ जना पक्राउ परेका हुन्।
पक्राउ परेकामध्ये १२१ जनाविरुद्ध विभिन्न मुद्दा दर्ता गरिएको छ भने २९६ जनालाई अनुसन्धानपछि रिहा गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए। उनका अनुसार बिचौलियारहित, नागरिकमैत्री, कानुनसम्मत, पारदर्शी तथा छिटोछरितो सेवा प्रवाह सुनिश्चित गर्न प्रहरीले अभियान सञ्चालन गर्दै आएको छ।
यसैबीच, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तेह्रथुमका सुरज पन्धाक लिम्बू, सोलुखुम्बुका कमलबहादुर पुलामीमगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, प्रल्हाद खत्री र सरोज गौतम तथा सिन्धुपाल्चोकका सूर्यप्रसाद कोइराला रहेका छन्।
उनीहरूले विभिन्न देश पठाइदिने भन्दै युवाबाट करोडौँ रुपैयाँ असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
त्यसैगरी, सुनको सिक्री लुटपाट घटनामा संलग्न रहेको आरोपमा रसुवा घर भई तारकेश्वर नगरपालिका–५ पैंयाटार बस्ने २५ वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका–६ मातातीर्थ क्षेत्रमा हिँडिरहेकी एक महिलामाथि भएको लुटपाट घटनाको अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।









