
जुम्ला जिल्लाका करिब नौ हजार घरधुरीमा केन्द्रीय विद्युत् सेवा पुगेको छ। एक नगरपालिका र सात गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन विस्तार भएसँगै उक्त उपलब्धि हासिल भएको हो।
नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख ललित मण्डलका अनुसार पातारासी गाउँपालिकाबाहेक अन्य सबै पालिकाका घरधुरीमा केन्द्रीय लाइन पुगेको छ। पातारासीमा भने लघु जलविद्युत्बाट सेवा दिइँदै आएको छ र त्यहाँ पनि चाँडै राष्ट्रिय लाइन जडान गर्ने तयारी भइरहेको छ।
चुकेनछ जलविद्युत् आयोजनाबाट उत्पादन भएको ९९८ किलोवाट विद्युत् चन्दननाथ नगरपालिका, गुठीचौर र तातोपानी गाउँपालिकाका अधिकांश वडामा वितरण गरिएको छ। तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा समेत केन्द्रीय लाइन विस्तार भइसकेको छ।
हाल तिला गाउँपालिका–८ र ९ तथा कनकासुन्दरी–१ र २ मा लाइन विस्तारको काम जारी छ। केही स्थानमा पोल र तार अभावका कारण ढिलाइ भए पनि बाँकी घरधुरीमा पनि छिट्टै विद्युत् सेवा पुर्याइने प्राधिकरणले जनाएको छ।
विद्युत् पहुँच विस्तारसँगै वर्षौंदेखि टुकी र सोलारमा निर्भर स्थानीयको जीवनशैलीमा सुधार आएको छ। स्थानीयका अनुसार अहिले गाउँमै टेलिभिजन र इन्टरनेट चलाउन सकिने भएको छ।
जिल्लाको कुल जनसंख्याको हाल ५५.६७ प्रतिशत नागरिक केन्द्रीय विद्युत् सेवाको पहुँचमा पुगेका छन्।









