२०८३ साउन ११ , सोमबार

कर्णालीमा शान्तिपूर्ण मतदान सम्पन्न, ५३.५ प्रतिशत मत खस्यो



कर्णाली प्रदेशमा आज बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभर प्रारम्भिक रूपमा ५३ दशमलव ५ प्रतिशत मत खसेको छ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कर्णालीमा रहेका कुल १० लाख ४८ हजार १३८ मतदातामध्ये पाँच लाख ६० हजार २५७ जनाले मतदान गरेका छन्।

यद्यपि, यो विवरण प्रारम्भिक भएकाले अन्तिम तथ्यांक भने फरक हुन सक्ने जनाइएको छ।

मतदान सम्पन्न भएसँगै कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रबाट मतपेटिका संकलन तथा ढुवानी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएसँगै मतपेटिका ढुवानीको काम सुरु गरिएको जानकारी दिए।

उनका अनुसार कर्णालीका सुगम जिल्लाका मतदान स्थलबाट मतपेटिका ढुवानी गर्न सवारी साधन सम्बन्धित स्थानमा पुगिसकेका छन्।

हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पाका उत्तरी क्षेत्रका मतदान स्थलबाट मतपेटिका ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ।

आज ती क्षेत्रका मतपेटिका एकीकृत गरी भोलि हेलिकोप्टरमार्फत जिल्ला सदरमुकाम ल्याइने बताइएको छ।

प्रहरीले मतपेटिका संकलन भएपछि आवश्यक प्रक्रिया पूरा गरी तत्काल मतगणना सुरु गरिने जनाएको छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार हुम्लाका चार मतदान स्थलबाट मतपेटिका ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ।

मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना सुरु गरिने उनले बताए।

त्यस्तै, हिमाली जिल्ला डोल्पा र मुगुका मतदान स्थलबाट पनि मतपेटिका ढुवानी गर्न हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ।

प्रकाशित मिति : २०८२ फागुन २१ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।