हुम्लाको सदरमुकाम सिमकोट केही दिन अघिसम्म राजनीतिक गतिविधि र चुनावी बहसले चहलपहल थियो। तर प्रतिनिधिसभा निर्वाचन हुन २ दिन मात्र वाकी हुदा बजारको दृश्य फेरिएको छ।

मतदानका लागि गाउँ फर्किनेको संख्या बढेसँगै बजारको चहलपहल एकाएक घटेको हो। सामान्यतया कर्मचारी, विद्यार्थी, व्यापारी तथा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताले भरिभराउ रहने सिमकोटमा अहिले सुनसान जस्तै देखिन थालेको छ। अध्ययन र रोजगारीका लागि अन्य गाउँपालिका तथा वडाबाट आएर बसोबास गर्दै आएका धेरैजसो नागरिक मतदानका लागि आ–आफ्नो गाउँ फर्किएका छन्।
बाहिरी जिल्लाबाट व्यापार–व्यवसाय गर्न आएका व्यापारीहरू समेत मतदान गर्न गाउँतिर लागेका छन्। यसरी नागरिकको चाप घटेसँगै सदरमुकामका अधिकांश होटल, पसल र चिया नास्ता घर बन्द जस्तै देखिन्छन्। निर्वाचनको मिति घोषणा भएर उम्मेदवार छनोट गरेसँगै जता–ततै सुनिने चुनावी चर्चा अहिले निकै कम भएको छ। बजारका चोक र गल्लीहरूमा पनि पहिलेको जस्तो भीडभाड देखिँदैन।
यता, विभिन्न कार्यालयका कर्मचारीहरू पनि आ–आफ्ना मतदान केन्द्रमा खटिएकाले कार्यालयहरूमा उपस्थिती न्यून छ। यसरी निर्वाचनको केन्द्र गाउँतिर सरेसँगै सिमकोट बजार केही दिनका लागि शान्त र सुनसान बनेको हो।






