२०८३ भदौ २८ , आइतबार

भ्रामक प्रचारबाट नअल्मलिन, मतदानमा सक्रिय सहभागिता जनाउन आग्रह : प्रधानमन्त्री



प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जाल तथा केही आमसञ्चार माध्यममार्फत तथ्यहीन सामग्री र भ्रामक प्रचार फैलाएर निर्वाचनको वातावरण बिथोल्ने प्रयास भइरहेको भन्दै सरकार त्यस्ता गतिविधिलाई निगरानीमा राखेको बताएकी छन्।

देशबासीका नाममा सम्बोधन गर्दै उनले नागरिकलाई भ्रममा नपर्न र जिम्मेवारीपूर्वक आगामी निर्वाचनमा सहभागी हुन आग्रह गरिन्। सरकारबाट कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिइने स्पष्ट पार्दै उनले कानुनअनुसार आवश्यक कारबाही गर्न सरकार पछि नहट्ने बताइन्। ‘कानुनको शासन स्थापित गर्ने विषयमा सरकार दृढ छ,’ उनले भनिन्।

निर्वाचनकै पूर्वसन्ध्यामा पर्ने होली पर्वको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उनले रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिने उल्लेख गरिन्। निर्वाचन र होलीले देशमा नयाँ ऊर्जा र सकारात्मक वातावरण सिर्जना गर्ने विश्वाससमेत उनले व्यक्त गरिन्।

फागुन २१ गते हुने मतदानलाई ऐतिहासिक अवसरका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नागरिकले आफ्नो र देशको भविष्य निर्धारण गर्ने दिन भएको बताइन्। ‘जेनजी आन्दोलन’पछिको जटिल संक्रमणकालीन अवस्थाबाट मुलुक क्रमशः स्थायित्वतर्फ अघि बढेको दाबी गर्दै उनले संविधान र विधिको शासनको मार्गमा अघि बढ्न सफल भएको उल्लेख गरिन्।

मतदानलाई केवल उम्मेदवार छान्ने प्रक्रिया नभई आगामी पुस्ताको भविष्य तय गर्ने निर्णयका रूपमा व्याख्या गर्दै उनले बिहीबार अरू काम छाडेरै भए पनि मतदान केन्द्रमा पुगेर मतदान गर्न आग्रह गरिन्। साथै निर्वाचन अवधिभर शान्ति, संयम र अनुशासन कायम राख्न सबैमा अपिल गरिन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहभागी सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई धन्यवाद दिँदै लोकतन्त्र सुदृढ बनाउन सक्रिय भूमिकाको प्रशंसा गरिन्। मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र प्रचारका क्रममा एक-अर्काप्रति सम्मानजनक व्यवहार गर्न पनि उनले आग्रह गरिन्।

निर्वाचन तयारीमा खटिएको निर्वाचन आयोग, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीप्रति आभार व्यक्त गर्दै उनले निष्पक्ष, स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको दोहोर्‍याइन्। प्रदेश र स्थानीय तहको सहयोग तथा मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त साथप्रति पनि उनले कृतज्ञता व्यक्त गरिन्।

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै उनले त्यहाँ रहेका नेपालीको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्। विदेशमा रहेका नेपालीको सुरक्षा र हितप्रति सरकार सधैँ संवेदनशील रहने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकाललाई मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै केही दिनपछि देशको नेतृत्व जननिर्वाचित प्रतिनिधिको हातमा जाने बताइन्।

प्रकाशित मिति : २०८२ फागुन १८ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।