आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीस्वरूप आवश्यक निर्वाचन सामग्री हुम्ला जिल्लामा आइपुगेका छन्।

शनिबार नेपाली सेनाको ‘स्काई ट्रक’ जहाजमार्फत निर्वाचन सामग्री हुम्ला ल्याइएको जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकायाले जानकारी दिए। उनका अनुसार मतदान निर्देशिका, मतपेटिका, सुरक्षा सिल, नउड्ने मसिको मार्कर, स्वस्तिक छाप, स्टिकर तथा रंगीन नामावलीलगायतका सामग्री जिल्लामा सुरक्षित रूपमा भित्र्याइएको हो।
जिल्लामा १९५ वटा मतपेटिका आवश्यक पर्ने भए पनि हाल २३५ वटा मतपेटिका मौज्दात रहेको अधिकारी रोकायाले बताए। प्रत्येक मतदान स्थलका लागि तीन–तीन वटा मतपेटिका छुट्याइएको छ।
हुम्लामा यसपटक कुल ३४ हजार ३७२ मतदाता रहेका छन्। तीमध्ये १८ हजार २१ जना पुरुष र १६ हजार ३५१ जना महिला मतदाता रहेका छन्। निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।









