उज्यालो नेपाल पार्टीले कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई मासिक १० हजार रुपैयाँ भत्ता दिने व्यवस्था सहित आफ्नो ‘निर्वाचन प्रतिबद्धता-पत्र’ सार्वजनिक गरेको छ।
पार्टीले आइतबार सार्वजनिक गरेको प्रतिबद्धता-पत्रमा +२ तहमा अध्ययनरत विद्यार्थीका लागि ‘श्रमबजार प्रवेश उत्प्रेरणा भत्ता’ उपलब्ध गराइने उल्लेख छ। ‘कमाउँदै, पढ्दै, सिक्दै’ कार्यक्रम लागू गर्दै +२ को पाठ्यक्रममा ५० प्रतिशत व्यवसायिक सीप विकासलाई अनिवार्य गरिने जनाइएको छ।

साथै, सरकारी तथा अनौपचारिक क्षेत्रमा एक सय दिनसम्मको इन्टर्नसीपको व्यवस्था गरी त्यसबापत भत्ता उपलब्ध गराइने प्रतिबद्धता जनाइएको छ।
पार्टीका अध्यक्ष कुलमान घिसिङ सहितका नेताहरूले प्रतिबद्धता-पत्र सार्वजनिक गर्दै विश्वविद्यालय तहसम्मको शिक्षा निःशुल्क गर्ने घोषणा गरेका छन्। नेपालको संविधानले आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्मको शिक्षा अनिवार्य हुने व्यवस्था गरेको भए पनि प्रभावकारी कार्यान्वयन नभइरहेको सन्दर्भमा पार्टीले विश्वविद्यालय तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने लक्ष्य राखेको हो।
त्यसैगरी, शिक्षा बचत कोष स्थापना गरी प्रत्येक नवजात शिशुको नाममा १५ हजार रुपैयाँ बचत खाता खोल्ने र १८ वर्ष पुगेपछि ब्याजसहितको रकम उच्च शिक्षा तथा सीप विकासमा प्रयोग गर्न उपलब्ध गराउने योजना पनि सार्वजनिक गरिएको छ।
प्रत्येक विद्यालयमा डिजिटल कक्षा, इन्टरनेट र डिजिटल पुस्तकालयसहित कक्षा १० सम्म गुणस्तरीय शिक्षा उपलब्ध गराउने ‘स्मार्ट स्कूल अभियान’ सञ्चालन गर्ने प्रतिबद्धता पनि पत्रमा समेटिएको छ।
‘गफ होइन काम, भाषण होइन परिणाम’ नारासहित सार्वजनिक गरिएको प्रतिबद्धता–पत्रमा सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको उल्लेख छ।
खर्च कटौतीका लागि प्रतिनिधिसभाका सदस्य संख्या २७५ बाट २०१ मा झार्ने, प्रदेशसभाका सदस्य संख्या ५५० बाट ३३० मा सीमित गर्ने तथा संघीय मन्त्रालय १५ र प्रदेश मन्त्रालय पाँचदेखि सात वटामा सीमित गर्ने प्रस्ताव गरिएको छ। राज्यमन्त्री वा सहायक मन्त्री नराख्ने नीति पनि पार्टीले अघि सारेको छ।
पार्टीले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था लागू गर्ने, सन् २०३५ सम्म नेपाललाई प्रतिव्यक्ति आय करिब चार हजार अमेरिकी डलर पुर्याउने, देशको अर्थतन्त्र १११ अर्ब अमेरिकी डलर बराबर पुर्याउने तथा आगामी पाँच वर्षमा वार्षिक ४५ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।
युवाहरूका लागि बिना धितो १० लाख रुपैयाँसम्मको स्टार्टअप ऋण उपलब्ध गराउने प्रतिबद्धता पनि गरिएको छ।
ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिँदै पार्टीले सन् २०३० सम्म १२ हजार मेगावाट र २०३५ सम्म २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने तथा भारत, बंगलादेश र चीनमा विद्युत निर्यात गरी वार्षिक पाँच अर्ब अमेरिकी डलर आम्दानी गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ।









