२०८३ भदौ २८ , आइतबार

दशौँ राष्ट्रिय खेलकुदबारे कर्णालीका मुख्यमन्त्री कडेलको कडा चेतावनी



कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि संघीय सरकारले हालसम्म आवश्यक पूर्वतयारी नगरेको आरोप लगाएका छन्।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहितको प्रतिनिधिमण्डलसँग सोमबार सुर्खेतमा भएको छलफलका क्रममा मुख्यमन्त्री कडेलले प्रतियोगिताको मिति मात्र तोकेर जिम्मेवारी पूरा नहुने भन्दै संघीय सरकारलाई गम्भीर तयारीका साथ अघि बढ्न सुझाव दिएका हुन्।

“पहिला खेलकुद हुने सुनिश्चित तयारी गर्नुस्, हाम्रो सहयोग रहन्छ”

मुख्यमन्त्री कडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमै आयोजना गर्न प्रदेश सरकार पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्दै प्रतियोगिता सफल बनाउन प्रदेश सरकारको तर्फबाट सबैखाले सहयोग उपलब्ध गराइने बताए। तर, खेलकुद नै नहुने अवस्थामा मिति घोषणा गर्दै जनतालाई भ्रममा पार्ने काम स्वीकार्य नहुने उनको भनाइ थियो।

छलफलमा मुख्यमन्त्री कडेलले पटक-पटक प्रतियोगिताको मिति तोकिए पनि संघीय सरकारले अहिलेसम्म ठोस तयारी नगरेकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘तपाईंहरू खेलकुद खेलाउने सुनिश्चित तयारीसहित आउनुहोस्, हाम्रो तर्फबाट पूर्ण सहयोग रहन्छ। तर बारम्बार मिति तोकेर भुक्याउने काम नगर्नुहोस्।’

खेलकुदका लागि आवश्यक सामग्रीसमेत खरिद प्रक्रिया अघि नबढेको उल्लेख गर्दै मुख्यमन्त्री कडेलले फागुन महिनाभित्र प्रतियोगिता कसरी सञ्चालन हुन्छ भन्ने प्रश्न उठाए। ‘अहिलेसम्म खेल सामग्री खरिदको प्रक्रिया समेत सुरु भएको छैन, एक महिनामा कसरी खेलकुद आयोजना गर्नुहुन्छ ?’ उनले भने।

मुख्यमन्त्री कडेलले कर्णालीमा उद्घाटन गरेर अन्यत्र प्रतियोगिता सञ्चालन गर्ने अभ्यास प्रदेश सरकारले स्वीकार नगर्ने स्पष्ट पारे। उनले पटक–पटक मिति सार्दै अन्ततः खेलकुद नहुने तर त्यसको जिम्मेवारी प्रदेश सरकारमाथि थोपर्ने प्रवृत्तिप्रति पनि आपत्ति जनाए। ‘तपाईंहरूकै कारण प्रतियोगिताको मिति सर्दै आएको छ, ‘मुख्यमन्त्री कडेलले भने, ‘जनतालाई ढाँट्ने किसिमको काम नगर्नुहोस्।’

प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।