२०८३ साउन १२ , मंगलबार

कर्णालीमा वैदेशिक रोजगारीतर्फ आकर्षण बढ्दो



कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको आकर्षण बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजार जतिले श्रम स्वीकृति लिने गरेका छन् ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र कर्णालीका १० जिल्लाका २८ हजार ४९ जनाले श्रम स्वीकृति लिएका छन् । जसअन्तर्गत सबैभन्दा धेरै सल्यानबाट छ हजार ९६७ पुरुष र ६२० महिला गरी सात हजार ७ हजार ५८७ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यसैगरी, सुर्खेतका पाँच हजार ८९ पुरुष र ५६८ महिलासहित छ हजार ३८७ जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क छ । दैलेखका तीन हजार ९६५ पुरुष र ३२३ महिला गरी चार हजार २८८, रुकुमपश्चिमका दुई हजार ८५९, जाजरकोटका दुई हजार ५१८, कालिकोटका एक हजार २५, जुम्लाका एक हजार २५५ जनाले श्रम स्वीकृति लिएका छन् । मुगुका ६८६, हुम्लाका ६०८ र डोल्पाका ६८८ जनाले श्रम स्वीकृति लिएको पाइएको छ ।

स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा राम्रो आम्दानीको आशामा नेपाली नागरिक वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेको सरोकारवालाहरूले बताएका छन्। उनीहरूले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारी निकायहरूको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन्।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा आयोजित अन्तरक्रियामा सहभागीहरूले सकेसम्म स्वदेशमै रोजगारी खोज्नुपर्ने र विदेश जानै परे कानुनी तथा वैधानिक प्रक्रियाबाट मात्र जानुपर्ने सुझाव दिएका हुन्।

 पछिल्लो समय अवैधानिक बाटो हुँदै वैदेशिक रोजगारीमा जाने र विभिन्न प्रलोभनमा परेर ठगीका घटना बढ्दै गएको श्रम अधिकृत ध्रुव देवकोटा चिन्ता व्यक्त गरे। साथै, कर्णाली प्रदेशका २६४ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाइसकेको तथ्य प्रस्तुत गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन गाउँस्तरसम्म सचेतना कार्यक्रम आवश्यक रहेको उनले उल्लेख गरे ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्णले सरकारले श्रम सम्झौता गरेका देशबाहेक अन्य देशमा जान नहुने विषयमा सबै गाउँमा चेतना फैलाउनुपर्नेमा जोड दिए ।

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले देशमा रोजगारीको अवसर नहुँदा विदेश जानुपर्ने अवस्था रहेको भन्दै वैदेशिक रोजगारीमा जाने व्यक्ति सबै कुरा थाहा पाएरमात्र जानुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।