२०८३ भदौ ३० , मंगलबार
सामािजक सञ्जालमा भाइरल भिडियाे

भारतमा बिरामीमाथि कुटपिट गर्ने डाक्टर निलम्बित



भारतको शिमलामा इन्दिरा गान्धी मेडिकल कलेज तथा अस्पताल (IGMC) मा उपचारका लागि भर्ना भएका एक बिरामीमाथि कुटपिट गरेको आरोपमा एक डाक्टर निलम्बनमा परेका छन्। ‘तु’ भनेर सम्बोधन गरिएकोमा आपत्ति जनाउँदा डाक्टरले आक्रमण गरेको घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रशासनले कारबाही गरेको हो।

घटनामा IGMC को पल्मोनरी मेडिसिन विभागका सिनियर रेसिडेन्ट डा. राघव नरुला (३१) ले ३६ वर्षीय बिरामी अर्जुन पंवारमाथि ओछ्यानमै लडाइरहँदा पटक–पटक मुक्का हानेको देखिन्छ। भिडियोमा अर्को एक डाक्टरले बिरामीका खुट्टा समातेर राख्ने प्रयास गरेको पनि देखिएको छ।

प्रहरीले डा. नरुलाविरुद्ध एफआईआर दर्ता गरेको छ। हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सुखुको निर्देशनमा IGMC प्रशासनले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। IGMC का मेडिकल सुपरिन्टेन्डेन्ट डा. राहुल रावका अनुसार छानबिन प्रतिवेदनका आधारमा थप कारबाही गरिनेछ।

स्वास्थ्य मन्त्री धनी राम शान्डिलले घटनालाई गम्भीर भन्दै दोषीमाथि उदाहरणीय कारबाही गरिने बताएका छन्। घटनास्थलमा उपस्थित अन्य मेडिकल स्टाफको भूमिकाबारे पनि छानबिन भइरहेको जनाइएको छ।

बिरामी पंवारका अनुसार उनलाई सास फेर्न गाह्रो भएपछि ब्रोंकोस्कोपीका लागि अस्पताल ल्याइएको थियो। परीक्षणपछि आराम गर्न भनिएको अवस्थामा डाक्टरले ‘तु’ भनेर सम्बोधन गर्दा आपत्ति जनाउँदा कुटपिट भएको उनको आरोप छ।

The Times of India बाट साभार

प्रकाशित मिति : २०८२ पुस ८ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।