२०८३ साउन १२ , मंगलबार

डलर महँगिँदा नेपालको विदेशी ऋण र अर्थतन्त्रमा दबाब



 

अमेरिकी डलरको भाउ मङ्गलबार १४५.४८ रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंक अनुसार डलर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। भारतीय रुपैयाँसँग स्थिर विनिमय दर कायम रहेकाले भारु कमजोर बन्दा त्यसको असर नेपाली रुपैयाँमा पनि परेको छ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। जसमध्ये १४ खर्ब ५३ अर्ब रुपैयाँ विदेशी ऋण हो। अधिकांश ऋण अमेरिकी डलर तथा एसडीआरमा भएकाले विनिमय दर बढ्दा विदेशी ऋणमा अतिरिक्त भार थपिएको छ। हालको विनिमय दरमा सबै विदेशी ऋण तिर्नुपरे करिब ४४ अर्ब रुपैयाँभन्दा बढी घाटा हुने अनुमान गरिएको छ।

गत एक वर्षमा डलरको भाउ करिब ७ प्रतिशतले बढेको छ। यसले आयात लागत बढाउँदा बजारमा महँगीको दबाब सिर्जना भएको छ। वैदेशिक शिक्षा, उपचार र विदेश भ्रमणमा जाने नेपाली नागरिकका लागि खर्च पनि बढेको छ। चालु आर्थिक वर्षमा मात्रै बाह्य ऋण भुक्तानीका लागि ६७ अर्ब रुपैयाँभन्दा बढी रकम छुट्ट्याइएको छ।

डलर महँगो हुँदा केही सकारात्मक असर पनि देखिएको छ। निर्यातयोग्य नेपाली वस्तु तथा सेवा अन्तर्राष्ट्रिय बजारमा तुलनात्मक रूपमा सस्ता देखिँदा निर्यातमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। रेमिटन्स आम्दानी र पर्यटन क्षेत्रलाई पनि यसले केही फाइदा पुर्‍याउन सक्ने विश्लेषकहरूको भनाइ छ।

अर्थविद्हरूका अनुसार आन्तरिक उत्पादन र निर्यात नबढेसम्म तथा आयात प्रतिस्थापनमा सुधार नआएसम्म नेपाली रुपैयाँ बलियो हुने सम्भावना न्यून छ। अहिलेका लागि डलरको उच्च भाउले नेपालको अर्थतन्त्रमा दबाब कायम रहने देखिन्छ।

प्रकाशित मिति : २०८२ पुस २ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।