२०८३ वैशाख ८ , मंगलबार

सुर्खेतमा ५ केजीभन्दा बढी अफिमसहित जाजरकोटका एक व्यक्ति पक्राउ



सुर्खेत प्रहरीले लागुऔषध अफिमको ओसारपसारमा संलग्न रहेको आशंकामा पाँच केजीभन्दा बढी अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्ति जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेत हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गोप्य सूचनाका आधारमा निगरानीपछि बुधबार साँझ भेरीगंगा नगरपालिका–१० तालबारीमा अफिम कारोबार भइरहेको सूचना प्राप्त भएपछि बस्नेतलाई शंकास्पद अवस्थामा फेला पारिएको हो।

प्रहरीले उनको झोलाबाट ५ केजी ५४० ग्राम अफिमजस्तो देखिने गिलो पदार्थ बरामद गरेको जनाएको छ।

उनको साथबाट अफिम तौल गर्न प्रयोग हुने डिजिटल तराजु, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका पाँच थान चेक धितो र नगद ४ हजार ७ सय ३० रुपैयाँ समेत बरामद गरिएको छ।

बस्नेतमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरिएको छ। १०० ग्रामभन्दा बढी अफिमको कारोबार गर्ने व्यक्तिलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

प्रारम्भिक अनुसन्धानअनुसार जाजरकोटलगायतका पहाडी जिल्लाबाट संकलन गरिएको अफिम सीमासम्म ओसारपसार गरी आर्थिक लाभ उठाउने उद्देश्य रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

बरामद अफिमको नेपालमा अनुमानित मूल्य करिब ८ लाख ८६ हजार रुपैयाँ र अन्तर्राष्ट्रिय बजारमा करोडौं पर्ने भएकाले विदेश पठाउन लागिएको हुन सक्ने प्रहरीको आशंका छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार