२०८३ मंसिर १० , बिहीबार
सय दिन

कर्णालीका मुख्यमन्त्री शाहीका सय दिन : उपलब्धिको फेहरिस्त लामो, विकास खर्च भने ३.९३ प्रतिशत मात्रै



कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सयदिने कार्यकालका उपलब्धि सार्वजनिक गरेका छन्।

कानुन निर्माणदेखि पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद र शासकीय सुधारसम्मका कामलाई सरकारले उपलब्धिका रूपमा प्रस्तुत गरे पनि विकास बजेट खर्चको कमजोर अवस्थाले सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाएको छ।

शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहीले सय दिनमा भएका कामको विवरण सार्वजनिक गरे। उनले कार्यकालको सुरुवात सन्तोषजनक रहेको दाबी गर्दै आगामी दिनमा सरकारका काम थप प्रभावकारी हुने बताए।

तर सरकारले सार्वजनिक गरेको तथ्यांकले भने उपलब्धिभन्दा चुनौतीको चित्र बढी देखाउँछ। आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म प्रदेश सरकारले कुल बजेटको ७.२० प्रतिशत मात्रै खर्च गरेको छ। अझ विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत बजेट खर्च ३.९३ प्रतिशतमा सीमित छ। चालुतर्फ भने १२.२४ प्रतिशत खर्च भएको छ।

अर्थात् विकासका योजना अघि बढाउने दाबी गरिरहेको प्रदेश सरकारले तीन महिना बितिसक्दा पनि पुँजीगत बजेटको चार प्रतिशतसमेत खर्च गर्न सकेको छैन। यस्तो अवस्थामा सडक, पुल, भवन र अन्य विकास आयोजनाले अपेक्षित गति लिनेमा प्रश्न उठेको छ।

कानुन निर्माणतर्फ पाँचवटा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको सरकारले जनाएको छ। तर विधेयक स्वीकृत हुनु र त्यसको प्रभावकारी कार्यान्वयन हुनु फरक विषय हुन्। विभिन्न तालिम केन्द्र एकीकरण, सरकारी कार्यालयमा प्रविधिको प्रयोग र सेवा प्रवाह सुधारलाई पनि सरकारले उपलब्धिका रूपमा व्याख्या गरेको छ।

पूर्वाधारतर्फ दुईवटा पक्की पुल र १७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको विवरण सार्वजनिक गरिएको छ। रुकुम पश्चिममा १८.४१७ किलोमिटर सडक निर्माण सुरु भएको तथा चार जिल्लाका सडक स्तरोन्नतिका लागि विश्व बैंकबाट कार्यसहमति प्राप्त भएको जनाइएको छ।

तर निर्माण सम्पन्न भएका आयोजनाको संख्या र समग्र विकासको गति हेर्दा प्रदेशका नागरिकले भोगिरहेका पूर्वाधारसम्बन्धी समस्याको समाधान अझै चुनौतीपूर्ण देखिन्छ।

त्यस्तै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ गतेदेखि सञ्चालन गर्ने तयारी, सुर्खेत रङ्गशाला हस्तान्तरण प्रक्रिया र १४६ जना खेलाडीलाई पुरस्कार वितरणलाई सरकारले उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। तर राष्ट्रिय खेलकुदको तयारी, बजेट व्यवस्थापन र पूर्वाधार निर्माणका विषयमा उठिरहेका प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने चुनौती सरकारसामु छ।

स्वास्थ्यतर्फ दैलेखमा पाँच शय्याको डायलाइसिस सेवा सञ्चालन गर्न अनुमति दिइएको छ भने जाजरकोट भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत तीनवटा विद्यालय भवन निर्माण सम्पन्न भएको विवरण छ।

विपद् व्यवस्थापन, राहत वितरण र वन्यजन्तुबाट क्षति बेहोरेका नागरिकलाई राहत उपलब्ध गराइएको विषय पनि सयदिने उपलब्धिमा समेटिएको छ।

सरकारले सय दिनमा गरेका कामको लामो सूची सार्वजनिक गरे पनि कमजोर पुँजीगत खर्च, विकास आयोजनाको कार्यान्वयन र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सेवा सुधारको अवस्था भने मुख्य चासोको विषय बनेको छ।

मुख्यमन्त्री शाहीले आगामी दिनमा आन्तरिक राजस्व वृद्धि, विकास आयोजना कार्यान्वयन, संघीयता सबलीकरण र सेवा प्रवाहलाई प्राथमिकता दिने बताएका छन्।

प्रकाशित मिति : २०८३ कात्तिक २१ गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।