डोल्पा जिल्ला कारागारबाट फरार भएका दुई जना कैदीलाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको छ।

डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट गत कात्तिक १४ गते बिहान ६ बजे फरार भएका आठ जना कैदीबन्दीको खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार कात्तिक १७ गते बिहान करिब १०ः३० बजे चौरजहारी बेस क्याम्प र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमाण्डमा खटिएको पाँच सदस्यीय टोलीले आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरमा सवारी जाँच गर्ने क्रममा दुई जनालाई नियन्त्रणमा लिएको हो।
खोली बगरबाट राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याप बोलेरो जिप जाँच गर्ने क्रममा उनीहरूले भाग्न खोजेका थिए। प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ तथा पहिचान गर्दा दुवै जना डोल्पा कारागारबाट फरार कैदी रहेको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन्। दुवै जना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई हाल प्रहरी चौकी गोतामकोटमा राखिएको छ। फरार अन्य कैदीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।











