नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न सेवा, समूह र तहका ८० रिक्त पदमा स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले शुक्रबार प्रकाशित सूचनामार्फत खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका १४ प्रकारका पदमा कर्मचारी माग गरेको हो।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयअन्तर्गत पदपूर्ति समितिले २०८३ कात्तिक १३ गते प्रकाशित गरेको विज्ञापनअनुसार प्राविधिक तथा प्रशासनिक दुवै सेवामा कर्मचारी माग गरिएको छ। इन्जिनियरिङ, सूचना प्रविधि, व्यवस्थापन, लेखा, व्यापार तथा प्रशासन विषय अध्ययन गरेका व्यक्तिदेखि एसईई वा सोसरह उत्तीर्ण गरेका उम्मेदवारले समेत योग्यता पुगेमा आवेदन दिन सक्नेछन्।
कुन पदमा कति कर्मचारी माग ?
कम्पनीले सार्वजनिक गरेको विज्ञापनअनुसार सबैभन्दा धेरै सहायक पदमा १७ जना माग गरिएको छ। त्यस्तै, जुनियर टेक्निसियनमा १२, कम्प्युटर समूहका टेलिकम इन्जिनियरमा १०, टेलिकम टेक्निसियनमा ९ र सहायक प्रशासनिक अधिकृतमा ९ जना माग गरिएको छ। अन्य पदमा वरिष्ठ व्यापार अधिकृत, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ इन्जिनियर र चार्टर्ड एकाउन्टेन्टतर्फ उपप्रबन्धक एक–एक जना माग गरिएको छ।
कुन पदका लागि कस्तो योग्यता ?
नेपाल टेलिकमले पदअनुसार फरक–फरक शैक्षिक योग्यता निर्धारण गरेको छ। उपप्रबन्धक (तह ९): चार्टर्ड एकाउन्टेन्सी वा सर्टिफाइड पब्लिक एकाउन्टेन्सी उत्तीर्ण गरी सम्बन्धित संस्थामा दर्ता भएको र तोकिएको कार्यानुभव भएको हुनुपर्नेछ।
वरिष्ठ इन्जिनियर (तह ८): सम्बन्धित इन्जिनियरिङ विषयमा स्नातकोत्तर र नेपाल इन्जिनियर्स परिषद्मा दर्ता भएको हुनुपर्नेछ। वरिष्ठ व्यापार तथा लेखा अधिकृत (तह ८): सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी तोकिएको कार्यानुभव भएको हुनुपर्नेछ।
टेलिकम इन्जिनियर (तह ७): इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर वा इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। सहायक प्रशासनिक, व्यापार तथा लेखा अधिकृत (तह ६): पदअनुसार सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

ओभरसियर (तह ५): सिभिल इन्जिनियरिङ, आर्किटेक्चर वा हाइवे इन्जिनियरिङमा प्रमाणपत्र तह वा डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्नेछ। सहायक (तह ४): एसईईमा कम्तीमा २ जीपीए वा सोसरह उत्तीर्ण गरी लोक सेवा आयोगको पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
टेलिकम टेक्निसियन (तह ४): एसएलसी वा सोसरह उत्तीर्ण गरी सम्बन्धित प्राविधिक तालिम वा सीप परीक्षण पूरा गरेको हुनुपर्नेछ। जुनियर टेक्निसियन (तह ३): कक्षा १० उत्तीर्ण गरी सम्बन्धित प्राविधिक तालिम वा सीप परीक्षण पूरा गरेको हुनुपर्नेछ।
उमेर हद कति ?
सहायक तहका पदमा आवेदन दिन १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। अधिकृत तह ६ र ७ का लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा तह ८ र ९ का लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
महिला तथा अपाङ्गता भएका उम्मेदवारका हकमा अधिकतम उमेर ४० वर्ष कायम गरिएको छ। कम्पनीका बहालवाला स्थायी कर्मचारीलाई भने उमेरको हद लागू नहुने सूचनामा उल्लेख छ।
आवेदन शुल्क कति ?
पद तथा तहअनुसार परीक्षा दस्तुर ३०० देखि ८०० रुपैयाँसम्म निर्धारण गरिएको छ। तह ८ र ९ का लागि ८००, तह ६ र ७ का लागि ७००, तह ४ र ५ का लागि ५०० तथा तह ३ का लागि ३०० रुपैयाँ शुल्क लाग्नेछ। समावेशी समूहमा थप आवेदन दिँदा तोकिएअनुसार अतिरिक्त दस्तुरसमेत तिर्नुपर्नेछ।
कसरी दिने आवेदन ?
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले नेपाल टेलिकमको अनलाइन आवेदन प्रणाली recruit.ntc.net.np मार्फत आवेदन दिन सक्नेछन्। आवेदनका क्रममा व्यक्तिगत विवरण, शैक्षिक योग्यता तथा आवश्यक प्रमाणपत्र अपलोड गर्नुपर्नेछ। नागरिकता, फोटो, हस्ताक्षर, शैक्षिक प्रमाणपत्र, तालिम, अनुभव तथा आवश्यक व्यावसायिक दर्ताका कागजात तयार राख्नुपर्नेछ।
आवेदन दिने अन्तिम मिति
सामान्य दस्तुरमा : २०८३ मंसिर ३ गतेसम्म
दोब्बर दस्तुरमा : २०८३ मंसिर १० गतेसम्म
लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत कर्मचारी छनोट गरिनेछ। तह ४ को टेलिकम टेक्निसियन र तह ३ को जुनियर टेक्निसियन पदका लागि प्रयोगात्मक परीक्षा पनि सञ्चालन हुनेछ। परीक्षाको मिति, समय र केन्द्र लोक सेवा आयोगले पछि निर्धारण गर्नेछ।











