२०८३ मंसिर १० , बिहीबार

युवालाई निःशुल्क एआई तालिम, २ हजारले पाउने अवसर



सरकारले युवालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप प्रदान गर्न निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले कात्तिक १८ र १९ गते ‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयमा तालिम सञ्चालन गर्न लागेको हो।

चार सत्रमा सञ्चालन हुने तालिम बिहान १० देखि १२ बजे र साँझ ६ देखि ८ बजेसम्म हुनेछ। प्रत्येक सत्रमा ५०० जनाका दरले कुल २ हजार युवाले सहभागिता जनाउन पाउनेछन्।

तालिममा ChatGPT र Claude लगायतका एआई उपकरणको प्रयोग, प्रभावकारी प्रम्प्ट लेखन, इमेल तथा प्रस्तुतीकरण तयार गर्ने, तस्बिर तथा भिडियो निर्माण गर्ने र एआईबाट प्राप्त सूचनाको सत्यता जाँच गर्ने लगायतका व्यावहारिक सीप सिकाइनेछ।

युवालाई अध्ययन, रोजगारी तथा व्यावसायिक क्षेत्रमा एआईको प्रभावकारी प्रयोग गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

तालिममा सहभागी हुन इच्छुक युवाले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। छनोट भएका सहभागीलाई तालिमको सत्र तथा अन्य आवश्यक जानकारी उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १५ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।