२०८३ मंसिर १० , बिहीबार

सरकार फेरियो, विदेशिने युवाको लर्को रोकिएन



फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा आएपछि युवाहरूमा नयाँ आशा पलाएको थियो। पुराना राजनीतिक दल र तिनको कार्यशैलीप्रति असन्तुष्ट युवाहरूले रास्वपाबाट रोजगारी, सुशासन र देशभित्रै अवसर सिर्जना हुने अपेक्षा गरेका थिए।

रास्वपा नेतृत्वको सरकार गठन भएपछि देशमै रोजगारीका अवसर सिर्जना हुने र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम हुने धेरैको विश्वास थियो। तर, वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिसम्बन्धी तथ्यांकले सरकार परिवर्तनपछि पनि विदेशिने युवाको संख्या उच्च रहेको देखाएको छ।

वालेन्द्र शाह (बालेन) चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि चैतदेखि असोजसम्मको सात महिनामा कुल ४ लाख ७० हजार ९३० जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

विभागको तथ्यांकअनुसार चैतमा ६१ हजार ८१९, वैशाखमा ७४ हजार ४२९, जेठमा ६१ हजार ७२ र असारमा ६९ हजार ३६२ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, साउनमा ७० हजार ४४१, भदौमा ६० हजार ४२ र असोजमा ७३ हजार ७६५ जनाले श्रम स्वीकृति लिएका छन्।

उक्त अवधिमा सबैभन्दा धेरै वैशाखमा ७४ हजार ४२९ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि असोजमा ७३ हजार ७६५ र साउनमा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएका छन्।

सरकार फेरियो, विदेशिने बाध्यता फेरिएन

निर्वाचनअघि रास्वपाले रोजगारी सिर्जना, आर्थिक सुधार र सुशासनलाई प्रमुख चुनावी एजेन्डा बनाएको थियो। विशेषगरी देशभित्रै रोजगारीको अवसर नपाएर विदेशिनुपर्ने बाध्यता अन्त्य गर्ने अपेक्षासहित युवाहरूले रास्वपालाई समर्थन गरेका थिए।

तर, सरकार गठनपछिका सात महिनामा पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च रहनुले रोजगारी सिर्जना सरकारका लागि गम्भीर चुनौती बनेको देखाउँछ। नेपालमा रोजगारीको अभाव, न्यून ज्याला, बढ्दो महँगी र आर्थिक अवसरको कमीका कारण ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा जान बाध्य छन्।

निर्वाचनअघि नै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समेत नेपाली युवाको विदेश पलायन र स्वदेशमै रोजगारी सिर्जना गर्ने अपेक्षालाई निर्वाचनका प्रमुख मुद्दाका रूपमा प्रस्तुत गरेको थियो।

सरकार परिवर्तनसँगै युवाहरूले खोजेको आर्थिक तथा रोजगारीसम्बन्धी परिवर्तन भने तथ्यांकमा देखिन सकेको छैन। सात महिनाको श्रम स्वीकृतिसम्बन्धी तथ्यांकले नयाँ सरकारसामु युवालाई स्वदेशमै रोक्ने र रोजगारीका अवसर सिर्जना गर्ने चुनौती अझै कायमै रहेको संकेत गरेको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।