२०८३ मंसिर १० , बिहीबार
उद्यम

आफ्नै व्यवसाय सुरु गर्न चाहनेका लागि निःशुल्क उद्यमशीलता तालिम, कसरी दिने आवेदन ?



आफ्नै व्यवसाय सुरु गर्न चाहने तर कुन व्यवसाय गर्ने, कसरी सुरु गर्ने र व्यावसायिक योजना कसरी बनाउने भन्ने अन्योलमा हुनुहुन्छ? त्यसो हो भने तपाईंका लागि निःशुल्क तालिमको अवसर खुलेको छ। नेपाल सरकारअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) ले एक हप्ते निःशुल्क उद्यमशीलता विकास तालिम (Entrepreneurship Development Programme-EDP) सञ्चालन गर्ने भएको छ। यसका लागि प्रतिष्ठानले इच्छुक व्यक्तिहरूसँग आवेदन माग गरेको छ।

प्रतिष्ठानका अनुसार तालिममा सहभागीहरूलाई आफ्नो व्यक्तिगत क्षमता मूल्याङ्कन गर्ने, आफूलाई उपयुक्त व्यवसाय पहिचान तथा छनोट गर्ने र व्यवसाय सञ्चालनका लागि आवश्यक व्यावसायिक योजना तयार गर्ने सीप प्रदान गरिनेछ।

कसले दिन सक्छन् आवेदन ?
प्रतिष्ठानले सार्वजनिक गरेको सूचनाअनुसार आवेदन दिन निम्न योग्यता पूरा गरेको हुनुपर्नेछः
– नेपाली नागरिक हुनुपर्ने।
– १६ वर्ष पूरा भई ५० वर्ष ननाघेको हुनुपर्ने।
– न्यूनतम एसईई, एसएलसी वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने।

आवेदन तथा तालिमको समयतालिका

विवरण                                                      मिति
आवेदन खुला                                २०८३ कात्तिक १३ गते
आवेदन दिने अन्तिम मिति            २०८३ कात्तिक ३० गते
सम्पर्क गर्ने मिति                           २०८३ मंसिर ४ गते
अनलाइन अन्तर्वार्ता                     २०८३ मंसिर ७–९ गते
तालिम सञ्चालन                         २०८३ मंसिर १४–२१ गते

कसरी दिने आवेदन?
इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आधिकारिक वेबसाइट www.iedi.gov.np बाट आवेदन फाराम डाउनलोड गरी भर्न सक्नेछन्। भरिएको आवेदन फाराम २०८३ कात्तिक ३० गतेभित्र program@iedi.gov.np मा इमेलमार्फत पठाउनुपर्नेछ।

आवेदन फाराम, तालिमसम्बन्धी निर्देशिका तथा थप जानकारी प्रतिष्ठानको वेबसाइटमा उपलब्ध रहेको छ। आफ्नै व्यवसाय सुरु गर्ने वा स्वरोजगार बन्ने सोचमा रहेका व्यक्तिहरूका लागि यो तालिम व्यवसाय छनोटदेखि व्यावसायिक योजना निर्माणसम्मका आधारभूत सीप सिक्ने अवसर बन्न सक्छ।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।